काठमाडौ । निरन्तर वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न खोलामा बाढीको सतह बढ्न थालेको छ।
बागमती, धोबीखोला र विष्णुमतीमा पानीको सतह बढेपछि स्थानीय प्रशासनले आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। प्रशासनले माइकिङ गर्दै खोला तथा नदी किनारका बासिन्दालाई सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा रहन अनुरोध गरिरहेको छ।
नेपाल प्रहरीले पनि बिहानैदेखि खोला आसपासका क्षेत्रमा पुगेर स्थानीयवासीलाई सचेत गराइरहेको जनाएको छ। काठमाडौंसँगै भक्तपुरका खोलामा समेत बाढीको सतह बढेको छ। मनोहरा र हनुमन्तेलगायतका खोलामा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले माइकिङमार्फत नागरिकलाई सावधानी अपनाउन आग्रह गरिरहेको छ।
काठमाडौं उपत्यकामा बिहीबारदेखि नै निरन्तर वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण उपत्यकाका नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै काठमाडौं प्रवेश गर्ने विभिन्न राजमार्गमा समेत आवागमन प्रभावित हुन थालेको छ। प्रशासनले वर्षाका बेला खोला तथा नदी किनारमा नजान र सम्भावित जोखिम भएका स्थानमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।




प्रतिक्रिया