पाँचथर, ९ असोज । वर्षा सुरु हुनासाथ याङवरक गाउँपालिका–१, चाम्लिङडाँडा, कोप्चे, बिरुवा र सिस्नेका बासिन्दा रातभरी जागै बस्छन् । पानी परेपछि पहिरोले गाउँ नै तान्ने चिन्ताले उनीहरु जागै बस्ने गरेका हुन् ।
बाढीपहिरोले सिङ्गो गाउँ नै जोखिममा परेपछि उक्त टोलका दर्जनौँ परिवारको बेचैनी बढ्दै गएको हो । गत जेठ ८ गते बिहान सो गाउँका सयौँ स्थानमा पहिरो झर्नुका साथै सबैजसो खोलाखोल्सीमा बाढी आएको थियो ।
बाढीपहिरोले सिङ्गो गाउँ नै क्षतविक्षत भए पनि अन्यत्र जाने ठाउँ नहुँदा यहाँका वासिन्दा ज्यानको बाजी राखेर जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका छन । बिरुवा टोलमा बसोबास गर्ने साविक च्याङथापू गाविसका अध्यक्ष शङ्कर गुरुङको घर आसपासमा धाँजा फाटेको छ । उनको घर लच्किएको छ, ढुङ्गा माटोको गारो लगाइएको भुइँ तला भत्किएका छन् ।
बिरुवा टोलको पुछार मेवा खोलामा भीषण पहिरो झर्न थालेको छ । विसं २०८० देखि क्रमशः पहिरो बढिरहँदा बिरुवा टोल नै उच्च जोखिममा परेको गुरुङले बताए ।
“पानी पर्दा सबै घरका मानिस डाँडामा गएर सुत्छौँ । तर लच्किएको भाग जति पहिरोले तान्यो भने भागेको ठाउँ पनि सुरक्षित हुँदैन”, गुरुङले भने, “हामी पहिरोभित्र बसेका छौँ ।” सबैतिर धाँजा फाटेको छ । विगतमा खेतीपाती गरिएको ठाउँ हो । तर अहिले एकैछिन पनि बस्न नसकिने अवस्था छ । पानी पर्दा भागिहाल्नु पर्ने अवस्था छ ।”
पहिरोले जोखिममा पारेको मात्रै होइन, स्थानीयवासीसँग घर बनाउने उपयुक्त जग्गा जमिन छैन । “धाँजा फाटेभन्दा माथि भाइको जग्गा छ, त्यहाँ घर बनाऔँ भने पनि यहाँ आएको पहिरोले माथि तानिहाल्छ । हामीलाई गाह्रो भयो”, गुरुङले भने ।
चाम्लिङडाँडाका रविन राई र रामकुमार राईको पीडा पनि गुरुङको जस्तै छ । ठाडे खोलामा आएको बाढी र मेवा खोलाबाट बढ्दै गएको पहिरोले रविन राईसहित आधा दर्जन घर उच्च जोखिममा छन् ।
पानी परेपछि डाँडातिर भाग्नुपर्ने अवस्था छ । रातको समयमा पानी प¥यो भने त भाग्न पनि नपाइएला भन्ने पिर छ”, राईले भने, “हिउँद लाग्न थाले पनि बेमौसमी वर्षाका कारण कहिले पानी पर्छ भन्ने टुङ्गो नहुँदा असोज–कात्तिक महिनामा पनि निर्धक्क भएर बस्ने अवस्था छैन ।”
विसं २०८० का च्याङथापूका अधिकांश टोलमा बाढी र पहिरोले ठूलो क्षति पु¥याएपछि पुनः विपद् नआउला भन्ने आशामा धेरै स्थानीयवासी बसेका थिए । तर विगतभन्दा ठूलो विपद् आएपछि तनाब थपिएको यहाँका इन्द्रबहादुर राईको भनाइ छ ।
च्याङथापूकै कोप्चेका भगिश्वर बेघाको गाई गोठ र शौचालय पहिरोले बगायो । ठूलो ढुङ्गा झरेर तीन तले घरको मूल संरचना हल्लाएको छ भने बरण्डाको भाग भाँचिएको छ । एक महिना लगाएर घरमा झरेको पहिरो पन्छाएका भगिश्वर अझै पनि भल काट्दै घर जोगाउँदै छन् ।
ठूलो पानी पर्नासाथ भाग्नुको विकल्प उनको परिवारसँग छैन । “मेरो घर बनाउने अर्को ठाउँ छैन । गरिब दुःखी हौँ, घास दाउरा गर्छौं । राम्रो ठाउँ जति भत्काएर लगिहाल्यो”, उनले भने, “घरैसम्म पहिरो छ । कसरी जीवन कटाउनु खोइ ?”
समथर परेको ठाउँ नहुँदा बेघा परिवारले शौचालय बनाउन पनि पाएका छैनन् । “पहिरोले क्षति गरेपछि हामी अन्धाधुन्द भयौँ । अर्कैको घरको शौचालय जानु परेको छ”, बेघाकी श्रीमती तिजमाया बेघाले भनिन्, “शौचालय बनाउने सजिलो ठाउँ पनि छैन, पैसा पनि छैन ।”
कोप्चेका धनकुमार बेघा पहिरोका कारण यहाँका बासिन्दाले जोखिमपूर्ण जीवन बिताउँदै आएको, सडक, विद्युत् र खानेपानीबाट वञ्चित हुनुपरेको गुनासो गर्छन् । यहाँको सिस्नेका यामबहादुर मगरको घरसम्म भीमकाय पहिरो आइपुग्न लागेको छ । मगरको घर छेउको सिस्ने पहिरोले उहाँसहित पदमसिंह, सुजन र चन्द्रबहादुर मगर बसाईं हिँड्ने अवस्थामा पुगेका छन् । “यहाँ रातको समयमा सुताइहुँदैन । अलि सुरक्षित ठाउँमा जान्छौँ । तर पानी प¥यो भने त जहाँ पुगे पनि उस्तै जोखिम हुन्छ । हामी सुत्न सक्दैनौँ”, उनले भने ।
ठिङ्गेपुरका बलबहादुर नेपालीका अनुसार बाढी र पहिरोका भाङटारका चार र सिस्नेका चार घर पूर्ण रुपमा प्रभावित भई भविष्यमा बस्न नसक्ने अवस्था छ । दिउँसो घर आएर बसे पनि राति सुत्न अवस्था नरहेको नेपालीको भनाइ छ ।
“सिस्ने, भाङटार, बिरुवा र कोप्चे टोलमा असाध्यै ठूलो क्षति भएको छ । यहाँका ज्येष्ठ नागरिकले विगतमा यस्तो क्षति भएको थिएन भन्नुहुन्छ”, नेपालीले भने, “गाउँपालिका र वडाले अनुगमन गरेर सामान्य राहत पनि उपलब्ध गराएका छन । तर धेरै संरचनामा क्षति पुगेका कारण स्थानीयवासीको जीवन कष्टकर बनेको छ ।”
पहिरोका कारण खानेपानी र सिँचाइका योजना क्षतविक्षत भएका छन । अहिले सिस्ने र कोप्चेको आवतजावतनै बन्द भएको नेपालीको भनाइ छ । याङवरक–१ का वडासदस्य नरबहादुर गुरुङका अनुसार चाम्लिङडाँडा, कोप्चे, बिरुवा र सिस्नेमा बाढी पहिरोले दर्जनौँ घर परिवारलाई जोखिममा पारेको छ । बस्ती नै जोखिममा परेका कारण अन्यत्रै जाने अवस्था पनि नहुँदा वर्षा हुनासाथ स्थानीय बासिन्दा जागै बस्नुपर्ने अवस्था रहेको गुरुङको भनाइ छ ।




प्रतिक्रिया