काठमाडौँ । संगीत उद्योगीहरूले प्रचलित कानुन र करार ऐनलाई टेकेर नै प्रतिलिपि अधिकार लिई व्यवसाय गरिरहेको स्वतन्त्र संगीत नेपालका संस्थापक सदस्य लक्ष्मण हुमागाईँले दाबी गरेका छन् ।
रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले व्यवसायीहरू रोयल्टी व्यवस्थापनका बाधक नभई स्वयम् रोयल्टीका हकदार रहेको बताए ।
डिजिटल युगमा प्रवेश गरेसँगै मेटादेखि टिकटकसम्म नेपाली गीत–संगीतको बजार फराकिलो भएको उल्लेख गर्दै हुमागाईँले भने, “हिजो कानुनबमोजिम करार गरेर अधिकार हस्तान्तरण गरेका केही स्रष्टाहरूले आज व्यापार राम्रो देखेपछि लोभिएर करारको अवज्ञा गर्न थालेका छन् ।” कतिपय व्यक्ति र संस्थाले दृश्य–अदृश्य रूपमा खेल खेलर रोयल्टी व्यवस्थापन हुन नदिएको र क्षेत्रमा द्वन्द्व सिर्जना गरेको आरोप उनले लगाए ।
आफूहरूले देशैभरबाट प्रतिलिपि अधिकार उल्लङ्घन गर्नेहरूलाई नियन्त्रणमा लिएर कानुनको फन्दामा बुझाएको उल्लेख गर्दै उनले व्यवसायीहरूका तर्फबाट कानुन उल्लङ्घन नभएको जिकिर गरे । पछिल्लो समय पूर्वसम्झौता र करारलाई बेवास्ता गर्दै एकपक्षीय रूपमा प्रमाणपत्र जारी गरेर व्यवसायमा अवरोध पुर्याउने काम भइरहेकोमा उनले आपत्ति जनाए ।
अन्तर्राष्ट्रिय मान्यताअनुसार पनि उत्पादकहरूले नै रोयल्टी सङ्कलनको पहल लिएर साझेदारहरूलाई सँगै लैजानुपर्नेमा व्यवसायीहरूलाई नै पछाडि पार्न खोजिएको उनको भनाइ थियो । रोयल्टी व्यवस्थापन र संगीत क्षेत्रको सुधारका लागि व्यवसायीहरू सधैँ सकारात्मक रहेको भन्दै उनले सबै पक्षलाई विगतका करार र कानुनको सम्मान गर्न आग्रह गरे ।




प्रतिक्रिया