‘संगीत क्षेत्रमा करारको पालना हुनुपर्छ, अविश्वास बढाउनु दुर्भाग्यपूर्ण’ : उपाध्यक्ष बूढा


काठमाडौं । डिजिटल बजारको विस्तारसँगै संगीत उद्योगमा स्रष्टा र उत्पादक (म्युजिक कम्पनी) बीच अविश्वासको खाडल सिर्जना हुनु दुर्भाग्यपूर्ण रहेको स्वतन्त्र संगीत समाज नेपालले जनाएको छ। रिपोर्टर्स क्लबमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा समाजका उपाध्यक्ष पदम बूढाले प्रचलित कानुन र पूर्वसम्झौता (करार) बमोजिम चलेका कम्पनीहरूमाथि भ्रामक दुष्प्रचार भइरहेको बताए।

फिजिकलबाट डिजिटल युगमा प्रवेश गर्दा गीत-संगीतको व्यापार र रोयल्टी संकलनको दायरा विश्वव्यापी बनेको उल्लेख गर्दै उपाध्यक्ष बूढाले भने, “टिकटक, फेसबुक र मेटा जस्ता डिजिटल प्लेटफर्मबाट आउने आम्दानी तोकिएको प्रक्रियाबाटै संकलन हुन्छ। यसबाहेक सार्वजनिक स्थल, रेडियो र टेलिभिजनमा बज्ने गीतको रोयल्टी गीतकार, संगीतकार, प्रस्तोता र उत्पादक गरी चारै पक्षलाई २५/२५ प्रतिशतका दरले विभाजन गर्ने सहमति छ।”

स्रष्टा र उत्पादकबीच नङ र मासुको सम्बन्ध हुनुपर्नेमा केही व्यक्तिहरूले क्षणिक लाभका लागि पूर्वसम्झौता उल्लंघन गर्न खोजेको उनको आरोप छ। “कम्पनीहरूले स्रष्टालाई लुटे भनेर बजारमा फैलाइएको हल्ला सत्य होइन। हिजोका दिनमा दुवै पक्षबीच जे सहमति भएको थियो, त्यसलाई मान्दिनँ भन्ने सुविधा कसैलाई हुँदैन,” उनले भने, “करारविरुद्ध गएर यो क्षेत्रलाई बदनाम गर्ने छुट कसैलाई छैन।”

स्रष्टा र उत्पादक दुवै पक्षको वैधानिक अधिकार र व्यावसायिक प्रतिष्ठा संरक्षण हुनुपर्नेमा जोड दिँदै समाजले अधिकारसम्बन्धी विवादलाई सार्वजनिक आरोप-प्रत्यारोपबाट नभई कानुनी र संस्थागत प्रक्रियाबाट समाधान गर्न सरोकारवाला सबैसँग आग्रह गरेको छ।