विपद् न्यूनीकरणका लागि नेपाल–भारत–चीनबीच साझा’मास्टर प्लान’ आवश्यक : सांसद न्यौपाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा जलस्रोत विज्ञ इञ्जिनियर श्रीराम न्यौपानेले जलवायु परिवर्तनका कारण नेपालमा बढ्दै गएको विपद्को जोखिम न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालद्वारा आइतबार आयोजित साक्षात्कारमा बोल्दै न्यौपानेले तीनवटै देशले जलवायुजन्य विपद् न्यूनीकरणका लागि साझा ‘मास्टर प्लान’ बनाएर अघि बढ्नुपर्ने बताए।

उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिन थालेका जोखिमलाई कुनै एक देशको प्रयासले मात्र सम्बोधन गर्न नसकिने भन्दै क्षेत्रीय सहकार्यमा जोड दिए।

न्यौपानेले विपद्पछि अब सरकारले तत्काल तीनवटा रणनीति बनाएर अघि बढ्नुपर्नेमा जाेड दिए । उनका अनुसार विश्व समुदायको ध्यानाकर्षण गराउने, भौतिक संरचनाको पुनर्निर्माण गर्ने र विपद्बाट विचलित परिवारको व्यवस्थापन गर्ने कामलाई सरकारले एकीकृत रूपमा प्राथमिकताका साथ अघि बढाउनुपर्छ।


जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको उल्लेख गर्दै उनले अब निर्माण हुने आयोजनालाई अझ व्यवस्थित र सुरक्षित बनाउनुपर्ने बताए। विशेषगरी सुरुङ निर्माण गर्दा आपतकालीन अवस्थामा स्वचालित रूपमा प्रणाली बन्द हुने प्रविधि (अटोमेटिक शटडाउन सिस्टम) अनिवार्य गर्नुपर्नेमा उनले जोड दिए।