देउवा समूहको कांग्रेस महाधिवेशन : सभापतिमा ७ प्रस्तावक र ७ समर्थक अनिवार्य


काठमाडौं । नेपाली कांग्रेसको समानान्तर महाधिवेशनको तयारी गरिरहेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले उम्मेदवारी दर्ता र निर्वाचन प्रक्रियासम्बन्धी निर्देशिका सार्वजनिक गरेको छ।

डा. शशाङ्क कोइराला नेतृत्वको १५औँ महाधिवेशन आयोजक समितिअन्तर्गतको केन्द्रीय सदस्य निर्वाचन समितिले जारी गरेको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०८३’ मा विभिन्न पदमा उम्मेदवारी दिन आवश्यक प्रस्तावक र समर्थकको संख्या तोकिएको छ।

निर्देशिकाअनुसार केन्द्रीय सभापतिमा उम्मेदवारी दिन ७ जना प्रस्तावक र ७ जना समर्थक आवश्यक पर्नेछ। अर्थात् सभापतिका उम्मेदवारले कम्तीमा १४ जना महाधिवेशन प्रतिनिधिको समर्थन जुटाउनुपर्नेछ।

उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका उम्मेदवारका लागि भने ५ जना प्रस्तावक र ५ जना समर्थकको व्यवस्था गरिएको छ। त्यस्तै, केन्द्रीय सदस्यका उम्मेदवारले ४ जना प्रस्तावक र ४ जना समर्थकको हस्ताक्षर बुझाउनुपर्नेछ।

प्रदेशदेखि स्थानीय तहसम्मका विभिन्न पदका लागि पनि निर्देशिकाले प्रस्तावक र समर्थकसम्बन्धी व्यवस्था गरेको छ। उम्मेदवारी दर्ताका क्रममा उम्मेदवारको नाम, मतदाता क्रमसंख्या, क्रियाशील सदस्यता नम्बर, प्रस्तावक–समर्थकको विवरण तथा हस्ताक्षरसहित तोकिएको उम्मेदवारी शुल्कको रसिद बुझाउनुपर्नेछ।

निर्देशिकामा प्रस्तावक र समर्थक सम्बन्धित महाधिवेशन प्रतिनिधि हुनुपर्ने तथा कांग्रेसको विधान र निर्वाचन नियमावलीअनुसार आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने उल्लेख छ।

देउवा समूहले यसअघि असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।