महिलामैत्री ब्लु बस सेवा तत्काल सञ्चालन गर्न रास्वपा सांसद चौधरीको माग


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोक चौधरीले महिलाका लागि सुरक्षित सार्वजनिक यातायातको व्यवस्था गर्न सरकारले घोषणा गरेको महिलामैत्री ब्लु बस सेवा तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चौधरीले सार्वजनिक यातायातमा यात्रा गर्ने क्रममा एक महिलाले आफूलाई सरकारले अघि सारेको ब्लु बस सेवा कहिलेदेखि सञ्चालन हुन्छ भनेर प्रश्न गरेको बताए।

उनले सार्वजनिक यातायातमा महिलाले अनुचित स्पर्श तथा विभिन्न प्रकारका दुर्व्यवहार भोग्नुपरेको भन्दै महिलाका लागि सुरक्षित यातायात आवश्यक रहेको बताए।

“सरकारको सयदिने प्राथमिकतामा समेटिएको महिलामैत्री ब्लु बस सेवा तत्काल कार्यान्वयन गर्न सरकारसँग जोडदार माग गर्दछु,” उनले भने।