काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भुवन भट्टले केन्द्रीय सदस्य(युवा तर्फ) उम्मेदवारी घोषणा गरेका छन् ।
कांग्रेस निवर्तमान सभापति शेर बहादुर देउवाको गृहजिल्ला डडेल्धुराका युवा नेता भुवनले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले १५ प्रमुख एजेण्डालाई प्राथमिकताका साथ अगाडि बढाएर पार्टी सभापति गगन कुमार थापालाई समर्थन गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।
अग्रज पुस्ताको अनुभव र संस्कारलाई सम्मान गर्दै नयाँ पुस्ताको ऊर्जा, दृष्टिकोण र विचारलाई नेतृत्वसँग जोड्ने उदेश्यसहित आफुले उम्मेदवारी दिने तयारी गरेको उनले बताए ।
१५औँ महाधिवेशनका लागि युवा नेता भुवनले अघि सारेकाे प्रमुख १५ एजेण्डा यस्ताे छ :-
१. युवालाई वर्तमानको साझेदार बनाउने नीति :
युवालाई केवल भविष्यका कर्णधारका रूपमा होइन, वर्तमानका निर्णायक साझेदारका रूपमा स्थापित गर्दै पार्टी र राज्यको मूल प्रवाहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने नीति कांग्रेसले अंगीकार गर्नुपर्छ। उत्पादनमुखी अर्थतन्त्रको विकाससँगै युवालाई त्यसको प्रमुख आधार बनाउँदै रोजगारीका अवसर सिर्जना गर्न राज्यलाई दबाब दिने र पार्टीभित्र आवश्यक नीति निर्माण गर्ने। साथै जेनजि आन्दोलनमा नवयुवा पुस्ताले उठाएका शुसासन, भ्रष्टाचारमुक्त समाज र सहज सेवा प्रवाहका मुद्धालाई पार्टिले संस्थागत रुपमा आफ्नो नीति वनाउनुपर्छ ।
२. निर्वाचनमा युवाको ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने :
स्थानीय, प्रदेश र संघीय निर्वाचनमा ४० वर्षमुनिका युवाको कम्तीमा ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुने गरी पार्टी विधानमै वैधानिक व्यवस्था गर्नुपर्छ। पार्टीबाट प्रतिनिधित्व गर्ने प्रदेश तथा संघीय सरकारमा समेत युवाको निर्णायक सहभागिता सुनिश्चित गर्ने व्यवस्था हुनुपर्छ।
३. संविधानप्रदत्त शिक्षा र स्वास्थ्यको मौलिक हक कार्यान्वयन र विश्वविद्यालयमा आमुल सुधार :
संविधानका आधारस्तम्भहरूको संरक्षण गर्दै समुन्नत लोकतन्त्र र लोककल्याणकारी राज्यको अवधारणालाई अघि बढाउनुपर्छ। संविधानप्रदत्त निःशुल्क शिक्षा र स्वास्थ्यसम्बन्धी मौलिक हकलाई व्यवहारमै कार्यान्वयन गर्ने नीति कांग्रेसले अंगीकार गर्दै सरकारलाई त्यसको प्रभावकारी कार्यान्वयनका लागि दबाब दिनुपर्छ। नेपालको समग्र शिक्षा प्रणालि सुधार गर्दै शिक्षा लाई सिप सँग सिपलाई रोजगारी सँग र रोजगारीलाई आयआर्जन सँग जोड्ने शिक्षा प्रणालिको विकास गर्ने र समग्र विश्वविद्यालयको सुधारका लागि मेरिटोक्रेसि पद्धति लागु गराउने पार्टिको नीति वन्नुपर्छ ।
४. पार्टीमा युवाको संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्ने :
पार्टीभित्र युवाको छुट्टै विभागको व्यवस्था गर्दै युवा तर्फको सहमहामन्त्री पदसमेत पार्टी विधानमै सुनिश्चित गर्नुपर्छ।
५. “उद्यमशीलतासहितको राजनीति” अभियान सञ्चालन गर्ने :
केन्द्रदेखि वडा तहसम्म “उद्यमशीलतासहितको राजनीति” अभियान सञ्चालन गर्ने र युवाको नेतृत्वमा सचेतना तथा अभियान समिति गठन गर्ने वैधानिक व्यवस्था पार्टीभित्र गर्नुपर्छ।
६. युवाका लागि स्टार्टअप र सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्ने :
देशभित्र रहेका तथा विदेशबाट फर्किएका युवालाई स्टार्टअप तथा उद्यम सञ्चालनका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न सरकारलाई दबाब दिने र यससम्बन्धी स्पष्ट नीति पार्टीले अंगीकार गर्नुपर्छ।
७. सूचना प्रविधि क्षेत्रमा युवाको सम्भावना विस्तार गर्ने :
डिजिटल युगमा युवाको सूचना प्रविधि क्षेत्रप्रतिको आकर्षण र सहभागिता बढाउन पार्टीको स्पष्ट आईटी नीति आवश्यक छ। आईटी सेवा तथा प्रविधि व्यवसायको अन्तर्राष्ट्रिय विस्तारका लागि कर छुटलगायत विशेष प्याकेजको व्यवस्था गर्न सरकारलाई दबाब दिने र युवा मैत्री आईटी नीति निर्माण गर्ने।
८. नेपाललाई मेडिकल र आईटी शिक्षाको हब बनाउने :
नेपाललाई मेडिकल तथा आईटी शिक्षाको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने नीति लिनुपर्छ। भारत तथा अफ्रिकी क्षेत्रबाट वार्षिक २ लाख विद्यार्थीलाई अध्ययनका लागि नेपाल ल्याउने लक्ष्यसहित आवश्यक पूर्वाधार र सिटको व्यवस्था गर्ने तथा वार्षिक १ लाख नेपाली विद्यार्थीलाई निःशुल्क मेडिकल तथा आईटी शिक्षा उपलब्ध गराउने दिशामा सरकारलाई दबाब दिने र पार्टीले स्पष्ट नीति बनाउने।
९. निजी क्षेत्र र व्यवसायमा युवाको सहभागिता बढाउने :
निजी क्षेत्रका व्यवसायीलाई लगानी विस्तारका लागि प्रोत्साहित गर्दै व्यवसाय तथा उद्यमशीलताको क्षेत्रमा युवाको सहभागिता र नेतृत्व बढाउने नीति निर्माण गर्न राज्यलाई दबाब दिने र पार्टीले आवश्यक नीति अंगीकार गर्ने।
१०. पूर्वीय दर्शन, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्ने :
नेपालको मौलिक पहिचानका आधारका रूपमा रहेका पूर्वीय दर्शन, धर्म, संस्कृति, कला तथा परम्पराको संरक्षण, संवर्द्धन र पुस्तान्तरणका लागि विशेष नीति निर्माण गर्न राज्यलाई दबाब दिने तथा पार्टीले पनि सोहीअनुसारको नीति अंगीकार गर्ने।
११. सन्तुलित परराष्ट्र नीति र युवा कूटनीति अघि बढाउने :
असंलग्नता, सन्तुलित कूटनीति र पञ्चशीलका सिद्धान्तका आधारमा नेपालको परराष्ट्र नीति अघि बढाउने विषयलाई पार्टीको नीतिमा स्पष्ट र संस्थागत गर्नुपर्छ। छिमेकी मुलुक तथा विश्वका राष्ट्रहरूसँग People-to-People Relations विस्तार गर्न युवाहरूको सहभागितामा अन्तर्राष्ट्रिय भ्रमण तथा आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने र विभिन्न देशका युवालाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्ने नीति पार्टीले अंगीकार गर्नुपर्छ।
१२. कृषि आधुनिकीकरणमा युवाको सहभागिता स्थापित गर्ने :
कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र प्रभावकारी बजार व्यवस्थापनसँगै आधुनिक कृषि व्यवसायमा युवाको सहभागिता र नेतृत्व बढाउन पार्टीको छुट्टै नीति निर्माण गर्नुपर्छ र सरकारलाई सोहीअनुसारका कार्यक्रम अघि बढाउन दबाब दिनुपर्छ।
१३. धार्मिक पर्यटन, जडीबुटी र जलस्रोतको दिगो उपयोग गर्ने :
नेपालको समृद्धिका लागि अपार सम्भावना बोकेका धार्मिक पर्यटन, प्राकृतिक स्रोत, जडीबुटी तथा जलस्रोतको दिगो र व्यवस्थित उपयोग गर्दै दीर्घकालीन विकासका लागि आवश्यक वैदेशिक लगानी भित्र्याउन सरकारलाई दबाब दिने र पार्टीले स्पष्ट नीति निर्माण गर्ने।
१४. जलवायु परिवर्तन सचेतना अभियानको संयन्त्र निर्माण गर्ने :
जलवायु परिवर्तन, हाम्रा हिमालहरुमा त्यसको असर तथा नेपालले भोगिरहेका चुनौतीबारे अन्तर्राष्ट्रिय मञ्चमा नेपालको स्पष्ट धारणा प्रभावकारी रूपमा प्रस्तुत गर्ने नीति पार्टीले निर्माण गर्नुपर्छ। संघदेखि स्थानीय तहसम्म युवालाई जलवायु सचेतना अभियानको अभियन्ताका रूपमा परिचालन गर्न छुट्टै संयन्त्र निर्माण गर्ने नीतिगत व्यवस्था गर्नुपर्छ।
१५. “गाउँ फर्क” अभियानमार्फत गाउँको सम्भावना उजागर गर्ने :
बसाइँसराइ स्वाभाविक प्रक्रिया भए पनि गाउँ–बस्ती रित्तिँदै जाने अवस्थालाई रोक्न स्थानीय सम्भावना, स्रोत र अवसरको पहिचान गर्दै पार्टीको नेतृत्वमा “गाउँ फर्क” अभियान सञ्चालन गर्ने नीतिगत व्यवस्था गर्नुपर्छ। जनताका आधारभूत आवश्यकता, शिक्षा, स्वास्थ्य, रोजगारी तथा आवश्यक विकासका पूर्वाधार गाउँसम्मै पुर्याउने राज्यको नीतिका लागि दबाब दिने र पार्टीले त्यसलाई आफ्नो नीतिको अभिन्न अंग बनाउने।





प्रतिक्रिया