‘बालेन सरकारले लगानीको वातावरण बनाउन सकेन, युवा फर्काउने बाचा पनि अधुरै’ : नेता तामाङ


काठमाडौँ । नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले वर्तमान बालेन शाह नेतृत्वको सरकारले लगानीको वातावरण बनाउन नसकेको र विदेशमा रहेका युवालाई स्वदेश फर्काउने आफ्नो प्रतिबद्धता पूरा गर्न नसकेको टिप्पणी गरेका छन्।

बालेन सरकार गठन भएको ६ महिना पुगेको अवसरमा रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता तामाङले सरकारको ६ महिने कार्यकाल उत्साहजनक नरहेको बताएका हुन्।

जनताको अभिमतअनुसार बालेन सरकारले पाँचै वर्ष काम गर्न पाउनुपर्छ भन्दै शुभकामना दिएका तामाङले ६ महिनाभित्र सुधारका संकेत देखिनुपर्नेमा त्यसो हुन नसकेको बताए।

“सय दिनभित्र विदेशका गल्ली-गल्लीबाट युवा फर्काउने वचन दिएको रास्वपा सरकारले कुनै नागरिकलाई फर्काउन सकेन, उल्टै विदेशिने क्रम बढेको छ,” तामाङले भने, “सार्वजनिक पदमा बस्ने सबैको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्छ। अहिले सार्वजनिक नियुक्तिका पदहरूमा मोलमोलाइ भएको सुनिन्छ, यसको जवाफ सरकारले दिनुपर्छ।”

विगतका सरकारका पालामा भएका भनिएका सबै भ्रष्टाचारका काण्डहरूमा छानबिन हुनुपर्नेमा जोड दिँदै उनले दोषीमाथि कारबाही गर्न बालेन सरकार चुक्न नहुने बताए, आरोप मात्र नलगाई छानबिन गरेर दोषीलाई कारबाही गर्न उनले चुनौती दिए।

विगतका सरकारहरूले लगानी सम्मेलन गरेर लगानी भित्र्याएको प्रसङ्ग जोड्दै तामाङले भने, “हिजो ऋण लिनुहुन्न भन्ने रास्वपाले आज अर्बौँको ऋण लिएको छ, तर लगानीको वातावरण भने बनाउन सकेको छैन। जनता अहिले पनि महँगी, ग्यास अभाव र कालोबजारी झेल्न बाध्य छन्।”

नेता तामाङले मुलुकको समृद्धिका लागि गाँजा खेतीलाई वैधानिकता दिन, कोदोको रक्सीलाई ब्रान्डिङ गरेर बेच्न तथा कर्णालीको चिसापानी क्षेत्रबाट १८ हजार मेगावाट विद्युत् उत्पादन गर्नेतर्फ ध्यान दिन सरकारलाई सुझाव दिए।

भोटेकोशी बाढीको प्रसङ्ग उल्लेख गर्दै तामाङले अब हिमनदीका किनारबाट २ देखि ३ किलोमिटर माथि मात्रै सडक निर्माण र सहर बस्ती बसाल्नुपर्ने नीति लिनुपर्ने बताए।

यस्तै, संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायकै विषयमा मात्र केन्द्रित भएको भए यो मुद्दा विश्वसामु थप स्थापित हुने उनको भनाइ थियो।

सोही क्रममा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिनु गलत भएको बताउँदै तामाङले एमालेभित्र अहिले नेतृत्व परिवर्तन नहुने स्पष्ट पारे। एमाले सच्चिएर एकताबद्ध भइसकेको दाबी गर्दै उनले केपी शर्मा ओली नै अध्यक्ष रहने र दोस्रो वरीयतामा वरिष्ठ नेता विद्या भण्डारी रहने स्पष्ट पारे।

साक्षात्कार कार्यक्रममा नेपाली कांग्रेसका नेता उदयशमशेर जबरा, नेकपा नेता देवेन्द्र पौडेल र रास्वपा सांसद आशिष गजुरेलको पनि सहभागिता रहेको थियो।