काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणा (जबरा) ले वर्तमान बालेन शाह नेतृत्वको सरकारले आफ्ना कमजोरी ढाकछोप गर्न विगत ३५ वर्षमा केही भएन भन्ने भाष्य सिर्जना गर्न खोजेको आरोप लगाएका छन्।
बालेन सरकार गठन भएको ६ महिना पुगेको अवसरमा रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सहमहामन्त्री राणाले कुनै पनि क्षेत्रमा सरकारले उल्लेख्य र प्रशंसायोग्य काम गर्न नसकेको दाबी गरे।
“अहिलेसम्म बालेन सरकारले कुनै पनि क्षेत्रमा ओहो, यहाँ राम्रो गर्यो भन्ने ठाउँ नै छैन,” राणाले भने, “आफ्नो कमजोरी ढाकछोप गर्न सरकारले बारम्बार विगत ३५ वर्षमा केही भएन भनेर अरू दलमाथि कमजोरी तेस्र्याएर उम्किन खोज्दैछ।”
मुलुकको आर्थिक क्षेत्र अहिलेको जस्तो डाँवाडोल कहिल्यै नभएको दाबी गर्दै उनले ‘पहिला थुन्ने र पछि सुन्ने’ सरकारको रवैयाका कारण व्यवसायीहरू त्रसित र असुरक्षित बनेको बताए।
“निजी क्षेत्रले बैंकबाट कर्जा लिएको छैन, बजारमा महँगी बढेको छ र ग्यास पर्याप्त हुँदा पनि सरकारले घर-घरमा पुर्याउन सकेको छैन,” उनले भने, “पोहोर एक वर्षमा ७ वटा आत्मदाहका घटना भएकामा यो सरकार बनेपछिका विगत दुई महिनामै ९ जनाले आत्मदाह गरे। नागरिकमा चरम निराशा बढेको छ।”
पहिले ८ डलरमा छाप्दै आएको पासपोर्ट अहिले ९ डलरमा किन छाप्नुपरेको हो भन्दै उनले सरकारसँग जबाफ मागे।
राष्ट्रिय सभामा रास्वपाको सांसद नभए पनि बजेट पारित गर्न विपक्षीले सहयोग गरेको उल्लेख गर्दै उनले कानुन मन्त्री शोभिता गौतमले राष्ट्रिय सभाका कारण विधेयक रोकिएको भनी झुठ बोलेको आरोप लगाए।
देवानगञ्ज घटना र भोटेकोशी बाढीजस्ता संकटपछि प्रधानमन्त्री आफैँले सर्वदलीय बैठक बोलाउनुपर्नेमा रास्वपा सभापति रवि लामिछानेले बोलाएको भन्दै उनले असन्तुष्टि जनाए। यद्यपि, सबै दललाई एकै ठाउँ बस्ने वातावरण बनाएकामा उनले लामिछानेलाई धन्यवाद दिए। मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिए पनि सम्पत्तिको स्रोत नखुलाइएकाले त्यो अपारदर्शी रहेको उनको भनाइ थियो।
प्रधानमन्त्री बालेनले संसद्मा बोल्दा नेपालले पनि भारतको जमिन मिचेको रहेछ भन्ने अभिव्यक्ति दिँदा रास्वपा सांसदहरूले ताली बजाएको भन्दै उनले कडा आपत्ति जनाए। तर, निर्वाचन र त्यसपछि पनि सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्ने विषयमा भने रास्वपाबाट कांग्रेसले सिक्नुपर्ने उनले बताए।
फरक प्रसङ्गमा नेपाली कांग्रेस नफुट्ने स्पष्ट पार्दै उनले डा. शेखर कोइरालाका ७ बुँदे र पूर्णबहादुर खड्काका ५ बुँदे माग पूरा भइसकेकाले १५ औँ महाधिवेशनमा एकजुट भएर भाग लिन सबैलाई आह्वान गरे। जहाँ-जहाँ आवश्यक पर्छ, कांग्रेसले सरकारलाई सहयोग जारी राख्ने उनले बताए।
साक्षात्कार कार्यक्रममा नेकपा एमालेका नेता शेरबहादुर तामाङ, नेकपा नेता देवेन्द्र पौडेल र रास्वपा सांसद आशिष गजुरेलको पनि सहभागिता रहेको थियो।




प्रतिक्रिया