काठमाडौँ । नेकपाका नेता देवेन्द्र पौडेलले वर्तमान रास्वपा सरकार विधिको शासन र कानुन कार्यान्वयनको सवालमा पूर्ण रूपमा चुकेको आरोप लगाएका छन्। रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले मुलुकको स्थायित्वका लागि पाँच वर्ष नै सरकार चलाएर समृद्धिको दिशामा लाग्नुपर्नेमा जोड दिए पनि सरकार सही बाटोमा नहिँडेको दाबी गरे ।
पूर्ववर्ती सरकार र राजनीतिक दलहरूका कमजोरीका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भएको उल्लेख गर्दै पौडेलले तर बालेन सरकारको बजेट तथा नीति र कार्यक्रममा कुनै नयाँ कुरा आउन नसकेको टिप्पणी गरे। “सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा डिजिटल भुक्तानीको प्रसङ्गबाहेक अरू कुनै नयाँ सोच वा दृष्टिकोण छैन,” उनले भने।
सरकारको कार्यशैलीको आलोचना गर्दै नेता पौडेलले सर्वसाधारणले आधारभूत सुविधासमेत नपाएको दाबी गरे। सरकारले ग्यास वितरणसम्म गर्न नसकेको र बजारमा कालोबजारी मौलाएको बताउँदै उनले भने, “सुकुम्बासीहरूलाई निर्मम ढङ्गले हटाइयो, तर उनीहरूप्रति अभिभावकीय भूमिका निर्वाह गर्न सरकार पूर्ण रूपमा असफल भयो।”
मुलुकको वर्तमान आर्थिक तरलता कायम रहेमा निजी क्षेत्र र बैंकहरूसमेत डुब्ने खतरा रहेको औँल्याउँदै पौडेलले विदेश नीतिको विषयमा पनि सरकार स्पष्ट नरहेको बताए। विगतका सरकारहरूले असंलग्न र पञ्चशीलको सिद्धान्तमा आधारित विदेश नीति अपनाएको स्मरण गराउँदै उनले वर्तमान सरकारको विदेश नीति के हो भन्नेमा अन्योल रहेको उल्लेख गरे।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई बिनाकारण गिरफ्तार गरिनु गलत भएको भन्दै उनले सरकारले विधिको शासनको खिल्ली उडाएको आरोप लगाए।
प्रधानमन्त्रीको कार्यशैली र जवाफदेहितामाथि प्रश्न उठाउँदै नेता पौडेलले भने, “प्रधानमन्त्रीले संसद्मा आएर प्रश्नको जवाफ सकभर दिनुहुन्न, सर्वदलीय बैठक बोलाउनुहुन्न र सार्वजनिक कार्यक्रमहरूमा पनि जानुहुन्न। तर उहाँलाई हिँड्दा पनि फुर्सद छैन, सधैँ हतारमा हुनुहुन्छ। सदनबाट निर्वाचित प्रधानमन्त्री संसद्प्रति नै जवाफदेही हुनुपर्छ।”
साक्षात्कार कार्यक्रममा नेकपा एमालेका नेता शेरबहादुर तामाङ, नेपाली कांग्रेसका नेता एवं सहमहामन्त्री उदयशमशेर जबरा र रास्वपाका सांसद आशिष गजुरेलको पनि सहभागिता रहेको थियो।




प्रतिक्रिया