पूर्वाधारलाई उत्पादनसँग जोडेर आर्थिक विकास गर्छौँ’ : सांसद आशिष गजुरेल


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद आशिष गजुरेलले सरकारको मुख्य लक्ष्य आर्थिक विकास र समृद्धि रहेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सांसद गजुरेलले पूर्वाधार र उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखेर काम भइरहेको स्पष्ट पारे।

प्रतिपक्ष र आम नागरिकको मागलाई सम्बोधन गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाइएको उनले जानकारी दिए। “विपक्षी दलहरू र जनताको सुझावका आधारमा हामीले शिक्षा र स्वास्थ्य क्षेत्रको भ्याट हटायौँ,” गजुरेलले भने, “अब विद्युत्मा लगाइएको भ्याट हटाउने विषयमा पनि आवश्यक अध्ययन भइरहेको छ।”

विगतका सरकारहरूले पूर्वाधार निर्माण गरे पनि तिनलाई उत्पादनसँग जोड्न नसकेको टिप्पणी गर्दै उनले भने, “हिजोका दिनमा भ्यू-टावरहरू त बने, तर तिनलाई पर्यटनसँग जोड्न सकिएन। यदि ती पूर्वाधारलाई पर्यटन र उत्पादनसँग जोडिएको भए त्यसको अर्थ हुन्थ्यो।” रास्वपाले उत्पादनमूलक पूर्वाधार निर्माणमा जोड दिएको उनको भनाइ थियो।

रास्वपा नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको दाबी गर्दै सांसद गजुरेलले कतै भ्रष्टाचार भएको पाइए सरकार निर्मम भएर प्रस्तुत हुने चेतावनी दिए। निजी क्षेत्रको लगानीबिना आर्थिक समृद्धि असम्भव रहेको औँल्याउँदै उनले डायस्पोरा (गैरआवासीय नेपाली) को लगानी भित्र्याउन पहल भइरहेको बताए।

यस्तै, प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालजस्ता कम कार्बन उत्सर्जन गर्ने देशले जलवायु परिवर्तनका कारण ठूलो क्षति भोग्नुपरेको विषय प्रमुखताका साथ उठाएको उनले बताए। “प्रधानमन्त्रीज्यूले राष्ट्रसङ्घको मञ्चबाट विश्वलाई यसबारे जानकारी गराउनुभएको छ, अब यस विषयमा विश्वभर व्यापक छलफल हुन्छ,” उनले भने।

साक्षात्कार कार्यक्रममा रास्वपा सांसद गजुरेलका साथै नेकपा एमालेका नेता शेरबहादुर तामाङ, नेकपाका नेता देवेन्द्र पौडेल र नेपाली कांग्रेसका नेता एवं सहमहामन्त्री उदयशमशेर जबराको पनि सहभागिता रहेको थियो।