काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा गरेको सम्बोधनले अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रभाव र कूटनीतिक छविलाई नयाँ उचाइ दिएको दाबी गरेका छन् ।
न्यूयोर्कबाट स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले प्रधानमन्त्री शाहको सम्बोधन विश्वभर चर्चाको विषय बनेको र नेपालको राष्ट्रिय मुद्दालाई विश्व मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्न सफल भएको बताए ।
उनका अनुसार राजनीतिक परिवर्तनपछि युवा प्रधानमन्त्रीले पहिलोपटक विश्व मञ्चमा नेपाललाई कसरी प्रस्तुत गर्छन् भन्ने विषयमा अन्तर्राष्ट्रिय समुदायको विशेष चासो थियो ।
‘एउटा ठूलो राजनीतिक परिवर्तनपछि देशको नेतृत्व सम्हाल्नुभएका युवा प्रधानमन्त्रीप्रति नेपालभित्र र बाहिर निकै ठूलो कौतूहल थियो । उहाँले विश्व मञ्चमा आफू र मुलुकलाई कसरी प्रस्तुत गर्नुहुन्छ भन्ने प्रतीक्षा थियो,’ मन्त्री खनालले भने, ‘सम्बोधनपछि भने संसारभरका प्रमुख समाचार माध्यमहरूमा उहाँको मन्तव्य प्रमुख हेडलाइन बन्यो ।’
प्रधानमन्त्री शाहको सम्बोधनको भिडियो यस वर्ष महासभामा प्रस्तुत भएका सम्बोधनमध्ये विश्वभर सबैभन्दा धेरै हेरिएको भिडियो बनेको दाबी मन्त्री खनालले गरे ।
उनले प्रधानमन्त्रीको सम्बोधन औपचारिकतामा मात्र सीमित नभई नेपालको राष्ट्रिय हित र जलवायु सङ्कटजस्ता विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने उद्देश्यमा केन्द्रित रहेको बताए । विशेषगरी भोटेकोसीमा आएको बाढीलाई ‘हिमालयन सुनामी’ का रूपमा प्रस्तुत गर्दै शाहले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याइरहेको जोखिमबारे विश्वको ध्यानाकर्षण गराएको उनको भनाइ छ ।
महासभाका क्रममा विभिन्न देशका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा परराष्ट्रमन्त्रीसँग भएका भेटवार्तामा समेत प्रधानमन्त्री शाहको सम्बोधनको प्रशंसा भएको खनालले जानकारी दिए ।
‘प्रधानमन्त्रीज्यूको सम्बोधनपछि मसँग भएका दर्जनौँ भेटवार्तामा विदेशी नेता तथा कूटनीतिज्ञहरूले उहाँको विचारको खुलेर प्रशंसा गर्नुभयो । उहाँले उठाउनुभएका मुद्दाप्रति अन्तर्राष्ट्रिय समुदायले पूर्ण ऐक्यबद्धता जनाएको छ । विश्वकै कान्छो सरकार प्रमुखका रूपमा उहाँले देखाउनुभएको कूटनीतिक परिपक्वताले नेपालको प्रस्ताव र अडानप्रति विश्व समुदायलाई सकारात्मक बनाएको छ ।’




प्रतिक्रिया