पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृत्यु


लिमा, १२ मङ्सिर  । पेरुको दक्षिणपूर्वी क्षेत्रमा सैन्य कर्मचारी बोकेको वायु सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको छ भने पाइलट गम्भीर घाइते भएका छन् । पेरुको रक्षा मन्त्रालयले शुक्रबार दुर्घटनाबारे जानकारी दिँदै हेलिकप्टर कोका उत्पादन हुने दुर्गम नदी उपत्यकामा दुर्घटनाग्रस्त भएको जनाएको छ ।

अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो ।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा खोजी तथा उद्धार टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र त्यसमा सवार नौ जना सैन्य कर्मचारी फेला पारेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “पाइलट तथा दुर्घटनामा बाँच्न सफल एकमात्र व्यक्ति एन्जो एस्पिनोजा रोकलाई थप उपचारका लागि लिमा लगिएको छ ।”

पेरुको सबैभन्दा ठूलो कोका उत्पादन क्षेत्र मानिने भाले देल रियो अपुरिमेक, एने इ मन्तारो (भ्राएम) उपत्यका लागुऔषध तस्करी र साइनिङ पाथ गुरिल्ला समूहका अवशेषहरूको उपस्थितिका कारण दशकौँदेखि सैन्यकरण गरिएको क्षेत्र हो ।

अयाकुचो क्षेत्रमा पर्ने दुर्गम समुदाय सानाबाम्बामा तीन जना सैनिकको उद्धार गरेपछि बिहीबार राति उक्त हेलिकप्टर बेपत्ता भएको बताइएको थियो । ती सैनिकलाई किन उद्धार गर्नुपरेको थियो भन्नेबारे अधिकारीहरूले कुनै विवरण दिएका छैनन् । दुर्घटनामा मृत्यु हुनेमा ती सैनिक पनि परेको जनाइएको छ ।

यसअघि फेब्रुअरीमा दक्षिणी पेरुमा अर्को एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार पेरु कोकाको पात र कोकेन उत्पादन गर्ने विश्वका प्रमुख मुलुकमध्ये एक हो । रासस