काठमाडौं । सिन्धुलीमा जिप सडकबाट खस्दा ८ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बुधबार बिहान करिब साढे ८ बजे काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ९७४९ नम्बरको जिप सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा दुर्घटनामा परेको हो ।
अनियन्त्रित भएको जिप सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–१ का २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीया मिना माया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेकबहादुर थिङ घाइते भएका छन् ।
घाइते सबैलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।
जिप चालक बेथानचोक गाउँपालिका–३ का २६ वर्षीय नारायण बस्नेत भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।




प्रतिक्रिया