गोरखा । लार्केपास पूर्ण रूपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको हिमपातका कारण उत्तरी गोरखा र मनाङको सिमानामा रहेको सो क्षेत्र बन्द भएको हो ।
समुद्र सतहदेखि पाँच हजार १०६ मिटर उचाइमा रहेको लार्केपास बन्द हुँदा स्थानीयको जनजीवन प्रभावित बनेको चुमनुब्री गाउँपालिका–१ साम्दोका होटल व्यवसायी निमा दोर्जे लामाले बताए ।
उनका अनुसार वर्षाको समयमा बाढीपहिरोका कारण तल्लो भेगको बजारबाट दैनिक उपभोग्य सामान ढुवानी गर्न नसकेपछि मनाङको भीमथाङ बजारबाट लार्केपास हुँदै सामान ओसारपसार सुरु गरिएको थियो । अहिले बाक्लो हिउँ जमेर बाटो मेटिएकाले लार्केपास हुँदै मनाङ आवतजावत गर्न असम्भव भएको हो ।
“यताबाट सामान लिन गएका खच्चड मनाङमा अड्किएर बसेका छन् । उताबाट आएकाहरू यता रोकिएका छन्”, पूर्ववडा सदस्यसमेत रहेका निमा दोर्जेले भने, “अझै केही दिन बाटो नखुलाउने हो भने सामागाउँ, साम्दोमा खाद्यान्न अभावको स्थिति सिर्जना हुनसक्छ ।”
बाढीपहिरोका कारण मनास्लु पदमार्गका विभिन्न ठाउँमा बाटो अवरुद्ध छ । बाढीले पदमार्गका पुल बगाएका कारण घोडा, खच्चड आवतजावतमा रोक लगाइएको छ । स्थानीय र पर्यटकका लागि अस्थायी काठेपुल बनाइएको छ ।
बाढीपहिरोले पुल बगाएपछि सामागाउँ, साम्दोमा जिल्लाको तल्लो क्षेत्रबाट वर्षामा घोडा, खच्चड हिँडाउन सकिएको छैन । बीचमा स्थानीय दैनिक उपभोग्य सामग्रीका लागि मनाङको भीमथाङ बजारमा आश्रित छन् ।
हिमपातले लार्केपास अवरुद्ध बनाएपछि मनाङ आवतजावत पनि ठप्प बनेको चुमनुब्री गाउँपालिका–१ का वडाध्यक्ष कर्मा छेवाङ लामाले बताए । “मनास्लु पदमार्ग अवरुद्ध बनेपछि सामागाउँ, साम्दोमा खाद्यान्न ढुवानीको एउटै ठाउँ मनाङको थियो । त्यो पनि अहिले हिउँले बाटो अवरुद्ध बनेपछि समस्या भएको छ”, उनले भने ।
लार्केपास अवरुद्ध हुँदा मनास्लु–लार्के–चुम क्षेत्रको ट्रेकिङ रुट प्रभावित हुने स्थानीय निमा लामाले बताए । “अहिले पर्यटकको सिजन छ । लार्केपास गर्न आएका सयौँ स्वदेशी, विदेशी पर्यटक पास अवरुद्ध हुँदा सामागाउँ र साम्दोमा रोकिएका छन् । जसले गर्दा पर्यटक, पर्यटन व्यवसायी, स्थानीय होटल व्यवसायी, गाइड र पोर्टरहरू मर्कामा परेका छन्”, उनले भने ।
लार्केपास खोलिदिन र सुरक्षित रूपमा सञ्चालनमा ल्याउन आफूहरूले टान, एमक्याप, गाउँपालिका र चुमनुब्री होटल व्यवसायी सङ्घलाई पत्रसमेत पठाएको उनले जानकारी दिए ।
विगतमा पनि भारी हिमपातका कारण लार्केपास अवरुद्ध बनेको थियो । गत वर्ष स्थानीय युवाले बाटो खुलाएका थिए । यो वर्ष त्यो सम्भव नरहेको साम्दोका निमा दोर्जे लामाले बताए ।
“यो वर्ष एकदमै बाक्लो हिउँ जमेको छ, स्थानीयले मात्र हिउँ पन्छाउन सम्भव छैन”, उनले भने । रासस




प्रतिक्रिया