‘चोलेन्द्रलाई कुन जेनजीको थ्रेट हो ? टीओबीको हो ?’ : सुनिल सिंह


काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएकाे घट्नामा जेनजीको नाम जोडिएको भन्दै आपत्ति जनाएका छन्।


बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा बाेल्दै सिंहले जेनजीलाई बदनाम र अपराधीकरण गर्ने प्रयासस्वरूप जबरा प्रकरणमा जेनजीको नाम जोडिएको दाबी गरे। ‘चोलेन्द्रले हिजो गरेका गलत कार्यका कारण पक्राउ भएको होला भनेको त जेनजी थ्रेट रे ? जेनजीले थ्रेट दिन्छ ?’ उनले प्रश्न गरे।

अहिले जेनजी आफैं ज्यान जोगाउन सडकमा संघर्ष गर्नुपर्ने अवस्थामा रहेको उनको भनाइ थियो। सिंहले जेनजीले सामाजिक सञ्जालमा लेखेकै आधारमा सरकारले पक्राउ गर्ने गरेको आरोपसमेत लगाए।

‘चोलेन्द्रलाई कुन जेनजीको थ्रेट हो ? टीओबीको हो ? टीओबीको हो भने त सरकारमै छ,’ उनले भने।


जबरालाई कुनै जेनजीले धम्की नदिएको सिंहले स्पष्ट पारे। ‘चोलेन्द्रलाई यो देशको कुनै जेनजीले थ्रेट दिएको छैन,’ उनले भने, ‘टीओबीको जेनजीले हो भने हामी जान्दैनौँ।’


सिंहले सरकारलाई जनताको पक्षमा र जेनजीका मुद्दामा काम गर्न सुझाव दिए। भ्रष्टाचार र दलालीविरुद्ध सरकारले काम गरे अभियानले साथ दिने उनको भनाइ थियो।


उनले अन्त्यमा जेनजी आन्दोलनलाई अनावश्यक रूपमा बदनाम तथा अपराधीकरण नगर्न सरकारलाई चेतावनीसमेत दिए।