काठमाडौं । नेपालमा खेलकुद तथा फेसन सामग्रीको खुद्रा व्यापार गर्दै आएको ब्रान्डहाउस नेपालले अनलाइन व्यापारिक मञ्च ब्रान्डहाउस डटकम डटएनपी सञ्चालनमा ल्याएको छ।
३१ वर्षदेखि खुद्रा व्यापार तथा ब्रान्ड व्यवस्थापनमा सक्रिय कम्पनीले डिजिटल माध्यमबाट नेपालभर अन्तर्राष्ट्रिय ब्रान्डका मौलिक उत्पादन उपलब्ध गराउने उद्देश्यले अनलाइन प्लेटफर्म सुरु गरेको जनाएको छ।
नयाँ मञ्चमा एडिडास, रिबक, एसिक्स, अन्डर आर्मर, न्यु एरा, लेभाइज र याज्जीलगायतका खेलकुद, फेसन तथा जीवनशैलीसँग सम्बन्धित उत्पादन उपलब्ध हुनेछन्।
कम्पनीका अनुसार अनलाइन प्लेटफर्ममार्फत ग्राहकले घरमै बसेर विभिन्न ब्रान्डका उत्पादनबारे जानकारी लिन, छनोट गर्न र खरिद गर्न सक्नेछन्। यसलाई भौतिक स्टोरसँगै डिजिटल बिक्री माध्यम विस्तार गर्ने योजनाका रूपमा कम्पनीले अघि बढाएको हो।
काठमाडौंमा मुख्यालय रहेको ब्रान्डहाउसले हाल सञ्चालनमा रहेका तथा विस्तारको योजनामा रहेका गरी आठवटा ब्रान्डहाउस स्टोर र १० वटा प्रमुख ब्रान्ड स्टोर सञ्चालन गर्ने योजना बनाएको छ। आगामी दिनमा थप बिक्री केन्द्र तथा फ्रेन्चाइजमार्फत देशभर उपस्थिति विस्तार गर्ने कम्पनीले जनाएको छ।
ब्रान्डहाउसले अन्तर्राष्ट्रिय ब्रान्डसँगको सहकार्यलाई निरन्तरता दिँदै मौलिकता, गुणस्तर र ग्राहक अनुभवलाई प्राथमिकतामा राखेको जनाएको छ।





प्रतिक्रिया