दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कारण पेस गर्न सर्वोच्चको आदेश


काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राखिएको विषयमा लिखित कारण पेस गर्न आदेश जारी गरेको छ।

बन्दीप्रत्यक्षीकरण रिटमाथि बुधबार भएको सुनुवाइपछि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो भोटाहिटीलगायत विपक्षी निकायलाई प्रसाईंलाई थुनामा राख्नुको कारणसहित लिखित जवाफ पेस गर्न आदेश दिएको हो।

प्रसाईंकी श्रीमती उमा प्रसाईंले मंगलबार उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

यसअघि काठमाडौं जिल्ला अदालतले असोज १२ गते प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। साइबर अपराधसम्बन्धी अनुसन्धानका लागि साइबर ब्युरोको टोलीले उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।

प्रसाईं यसअघि पनि विभिन्न आरोपमा पक्राउ पर्दै आएका छन्। पक्राउ तथा हिरासतसम्बन्धी विषयमा अदालतबाट हुने आदेशअनुसार उनी रिहा हुँदै आएका थिए।