मन्त्री लम्सालको ‘चमत्कार’: सिमेन्ट–डन्डीको मूल्यमा निर्माण व्यवसायीलाई राहत दिने तयारी


काठमाडौं । निर्माण सामग्रीको लगातार बढ्दो मूल्यका कारण सडक तथा पूर्वाधार निर्माण प्रभावित भइरहेका बेला भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीलाई राहत दिने तयारी गरेका छन्।

पछिल्लो समय सिमेन्ट, डन्डी, बिटुमिन, डिजेललगायत निर्माण सामग्रीको मूल्य बढेपछि पुरानो दररेटमा ठेक्का सम्झौता गरेका निर्माण व्यवसायी थप लागतको दबाबमा परेका छन्। मूल्यवृद्धिका कारण कतिपय सडक तथा पूर्वाधार आयोजनाको काम सुस्त हुनुका साथै केही आयोजना अलपत्र पर्ने अवस्था आएको निर्माण व्यवसायीहरूले बताउँदै आएका छन्।

यही समस्यालाई सम्बोधन गर्न मन्त्री लम्सालले निर्माण व्यवसायीलाई मूल्यवृद्धिको भारबाट राहत दिलाउने गरी विशेष व्यवस्था गर्ने तयारी थालेका हुन् । उनका अनुसार सिमेन्ट, डन्डी लगायतका निर्माण सामग्रीमा भएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्ने विषयमा सरकार गम्भीर छ।

मन्त्री लम्सालले यससम्बन्धी प्रस्तावलाई मन्त्रिपरिषद्को बैठकमा लैजाने तयारी भइरहेको जानकारी दिएका छन्।

पुरानो लागत अनुमानका आधारमा ठेक्का सम्झौता भएका आयोजनामा निर्माण सामग्रीको मूल्य एकाएक बढ्दा व्यवसायीले थप आर्थिक भार व्यहोर्नुपरेको छ। लागतअनुसार भुक्तानी तथा मूल्य समायोजन हुन नसक्दा निर्माण व्यवसायीले काम अघि बढाउन कठिनाइ भोग्दै आएका छन्।

विशेषगरी सडक निर्माणमा प्रयोग हुने सिमेन्ट, डन्डी, बिटुमिनलगायत सामग्रीको मूल्यवृद्धिले आयोजनाको लागतमा प्रत्यक्ष प्रभाव पारेको छ। यही कारण कतिपय स्थानमा सडक निर्माणको गति घटेको र निर्माण व्यवसायीले सरकारसँग मूल्य समायोजन तथा राहतको माग गर्दै आएका छन्।

मन्त्री लम्सालले भने विकास निर्माणका काम रोक्नुपर्ने अवस्था आउन नदिने र निर्माण व्यवसायीले भोगेको वास्तविक समस्या समाधान गर्ने बताएका छन्। सरकारले मूल्यवृद्धिको वास्तविक अवस्था अध्ययन गरी आवश्यक कानुनी तथा नीतिगत व्यवस्था मिलाएर राहत दिने तयारी गरेको उनको भनाइ छ।

मन्त्रिपरिषद्बाट प्रस्ताव पारित भएमा सिमेन्ट, डन्डी लगायत निर्माण सामग्रीको मूल्यवृद्धिको प्रत्यक्ष असर परेका आयोजनालाई राहत पुग्ने उनकाे विश्वास छ ।