म्याग्दी । कालीगण्डकी नदीमा आएको बाढीले बेनी नगरपालिका–१ आनन्दबगरका आठ घरमा क्षति पुर्याएपछि स्थानीयवासीलाई सुरक्षित बासको चिन्ता थपिएको छ। असोज ११ गते आएको बाढी घरभित्रै पसेपछि लत्ताकपडा, भाँडाकुँडा, खाद्यान्नलगायतका सामानमा क्षति पुगेको हो।
बाढी प्रभावित रुद्रबहादुर थापाका लागि पछिल्ला चार दिन घरभित्र पसेको हिलो पन्छाउने, बचेका सामान निकाल्ने र घाममा सुकाउनेमै बितिरहेका छन्। उनका तीन भाइका तीनवटै घरमा आधा तलासम्म बाढी पसेको थियो। केही सामान बगाएको छ भने बाँकी सामान हिलाम्मे र भिजेका छन्।
“केही सामान बगायो। बचेका सामान खोजेर सरसफाइ र संरक्षण गर्ने काम चार दिनसम्म पनि सकिएको छैन। अब कहाँ बस्ने भन्ने टुङ्गो छैन,” थापाले भने।
व्यावसायिक तरकारी खेती गर्दै आएका थापाको समय अहिले खेतमा भन्दा बाढीले क्षति पुर्याएको घर र सामान व्यवस्थापनमै बितिरहेको छ। कालीगण्डकीमा फेरि बाढी आउने त्रासका कारण उनी साँझ आफन्तको घरमा सुत्ने र बिहान आनन्दबगर फर्किएर घर सफा गर्ने गरेका छन्।
आनन्दबगरका अन्य स्थानीयको अवस्था पनि उस्तै छ। ६० वर्षीया कमला जिसीले आफूले थाहा पाएदेखि कालीगण्डकीमा यसपटकको जस्तो ठूलो बाढी नदेखेको बताइन्। बाढीले घरमा रहेका खाद्यान्नसमेत बगाएपछि प्रभावित परिवारलाई बाससँगै गासको समेत चिन्ता थपिएको छ।
बाढीले घरसँगै स्थानीयका करेसाबारीमा लगाइएको तरकारी बाली, खेलमैदान, खानेपानी संरचना र बेनी–आनन्दबगर जोड्ने सडकमा समेत क्षति पुर्याएको छ। आनन्दबगरका बासिन्दाको मुख्य आम्दानीको स्रोत बनेको व्यावसायिक तरकारी खेतीमा क्षति पुगेपछि उनीहरूको जीविकोपार्जनमा समेत असर परेको छ।
स्थानीयवासीले तत्काल राहतसँगै बस्ती संरक्षणका लागि दीर्घकालीन योजना बनाउन माग गरेका छन्। कालीगण्डकी किनारमा तटबन्धलगायतका संरचना निर्माण गरी बस्तीलाई सुरक्षित बनाउनुपर्ने उनीहरूको माग छ।
बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाका अनुसार आनन्दबगरमा तत्काल राहतको व्यवस्था गरिएको छ। खानेपानीको समस्या समाधानका लागि नगरपालिकामा पहल भइरहेको र दीर्घकालीन रूपमा बस्ती संरक्षण गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको उनले बताए।
बाढीपछि आनन्दबगरमा घरको आँगनमा थुप्रिएको हिलो, खेतमा पुरिएको तरकारी र प्लास्टिक घरभित्र थुपारिएका सामानले स्थानीयको बदलिएको दैनिकी देखाउँछन्। अहिले उनीहरूको प्राथमिकता बाढीबाट जोगिएका सामान बचाउनु र सुरक्षित बासको खोजी गर्नु बनेको छ। दीर्घकालीन रूपमा बस्ती संरक्षण हुन नसके पुस्तौँदेखि कालीगण्डकी किनारमा बस्दै आएका परिवारले थातथलो छाड्नुपर्ने अवस्था आउन सक्ने चिन्ता स्थानीयमा बढेको छ।




प्रतिक्रिया