‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ’


गण्डकी, १५ असोज । आफ्नै कार्यकालमा ठडिएको वडा कार्यालय भवन दरमखोलाको बाढीले बगाएपछि बागलुङको गलकोट नगरपालिका–९ का वडाध्यक्ष तेजबहादुर थापाको मन कुँडिएको छ। बुधबार साँझ क्षतिग्रस्त भवनछेउ भेटिएका उनी चिन्तित देखिन्थे।

दरमखोला किनारमा लडेको भवनतिर हेर्दै उनले भने, “मलाई मेरो दस मुरी धान फल्ने खेत बगेर केही फरक परेको छैन, त्यहाँ अहिले खोला हिँडेको छ, तर यो वडा भवनसँगै मेरो इतिहास पनि मेटिएकामा सारै दुःख लागेको छ।”

वडाध्यक्ष थापाको बाह्रमुरीमा रहेको धानखेत पनि गत आइतबार आएको बाढीका कारण बगरमा परिणत भएको छ।

उनलाई आफ्नो निजी सम्पत्तिमा पुगेको क्षतिभन्दा वडा कार्यालय भवन ढलेकामा बढी पिरलो छ। स्थानीयवासी पनि वडाको ‘गहना’ का रूपमा रहेको वडा कार्यालय भवन बाढीमा बग्दा चिन्तित रहेको वडाध्यक्ष थापाले बताए। वडा कार्यालयका अभिलेखसहित केही महत्वपूर्ण सामग्री तथा उपकरण बचाउन सकिए पनि सबैको पहलमा बनेको भवनसहित सरकारी सम्पत्ति नाश हुँदा दुःख लागेको उनले बताए।

“अहिले पनि म राम्रोसँग निदाउन सकेको छैन, अझै पनि ढलेको भवनभित्रबाट केही सामान झिक्न सकिन्छ कि भनेर यहाँ आइरहन्छु, मेरो मन–आत्मा त्यही भवनमा छ”, उनले भने।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा थापा वडाध्यक्षमा निर्वाचित भएपछि उनीसहित स्थानीयवासीको विशेष पहल र नगरपालिकाको ८० लाख रुपैंयाँ बजेटबाट वडा कार्यालय भवन निर्माण भएको थियो। दोस्रो पटक पनि वडाध्यक्ष बनेका थापाले भवनलाई सुविधायुक्त बनाउन आवश्यक स्रोतसाधनको जोहो गरेका थिए।

चिटिक्कको भवन छिनभरमै ढल्दा मन भारी भएको उनले बताए। वडाको बजेट र स्थानीयवासीको सहयोगमा तीन रोपनी जग्गा खरिद गरी भवन बनाइएको थियो। अहिले भवन र जग्गा दुवै बाढीले नामोनिसान नरहने गरी बगाएको छ। भवनसँगै झण्डै १५ लाख रुपैंयाँमा जडान गरिएको सौर्य ऊर्जामा पनि क्षति पुगेको वडाध्यक्ष थापाले बताए।

नदीको कटानले भवनमा जोखिम बढ्दै गएपछि स्थानीयवासी मिलेर कम्प्युटर, ल्यापटपलगायत केही महत्वपूर्ण सामान भवनबाट झिक्न सफल भएका थिए।

दरमखोलाको बहावले जमिन छिचोल्दै गएपछि आइतबार बेलुका ४ बजेतिर वडा भवन खोला किनारमा ढलेको थियो। जगैदेखि ढले पनि भवनको माथिल्लो संरचनामा भने खासै क्षति नपुगेको स्थानीयवासी हुमलाल ढकालले बताए।

“भवनको संरचना बलियो रहेछ, जगबाटै पल्टँदा पनि भवनको झ्यालको सिसा समेत फुटेको छैन”, उनले भने, “खोलाको कटानले जग खल्बलिएर ढलेको भए पनि भवन सग्लै छ।”

बाढीले वडा कार्यालय नजिक रहेको ढकालको घर पनि जोखिममा परेको छ। “पानी पर्‍यो भने घर छाडेर हिँड्नु पर्ने अवस्था छ”, ढकालले भने, “बाढी प्रभावितको राहत र पुनःनिर्माणमा सरकारले ध्यान दिओस् भन्ने हाम्रो माग छ।”

बाढीले वडा नं. ९ का केही घरगोठ र ठूलो मात्रामा धानखेत बगाएको छ। बाह्रमुखी, टिमुरबोटलगायत फाँटमा पाक्नै लागेको धानसँगै खेत बाढीले उजाडेपछि किसान पीडामा छन्।

गलकोट नगरपालिकाले क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ। प्रारम्भिक विवरणअनुसार बाढीपहिरोका कारण गलकोट नगर क्षेत्रभित्र २२ घरगोठमा क्षति पुगेको छ। ‘रिसोर्ट’लगायत व्यावसायिक संरचनामा पनि क्षति पुगेको जनाइएको छ।

नगर प्रमुख भरत शर्मा गैरेले सरकारी र निजी गरी करोडौं रुपैयाँको भौतिक सम्पत्तिमा क्षति पुगेको बताए। “बाढीका कारण गलकोटमा मानवीय क्षति नभए पनि ठूलो भौतिक क्षति भएको छ”, उनले भने, “बाढीपहिरो प्रभावित परिवारका लागि तत्काल राहतसँगै पुनःनिर्माणका काममा योजना बनाएर काम गर्छौ।”

यही असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षासँगै निम्तिएका बाढीपहिरोका घटनाबाट गलकोटसहित जिल्लाका अधिकांश स्थानीय तह प्रभावित बनेका छन्। पहिरोमा परी जिल्लामा १३ जनाले ज्यान गुमाएका छन् भने ठूलो भौतिक क्षति पुगेको छ।