सुदूरपश्चिम, १५ असोज । प्रतिनिधिसभा सदस्य डा आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा यसै शैक्षिकसत्रदेखि चिकित्सा स्वास्थ्य विज्ञानका कक्षा सञ्चालन गर्ने तयारीलाई निष्कर्षमा पु¥याउन आग्रह गरेका छन् ।
चिकित्सा शिक्षा आयोगको टोलीले अध्ययन अध्यापनको तयारीका लागि वस्तुस्थिति अध्ययनका क्रममा हालै गरेको निरीक्षणपछि खुसी व्यक्त गर्दै उनले विश्वविद्यालय सञ्चालन आमसुदूरपश्चिमवासीको चाहना भएकाले प्राविधिक विषय तत्काल टुङ्ग्याएर काम अगाडि बढाउन आग्रह गरेका हुन् ।
सांसद डा चन्दले विश्वविद्यालयअन्तर्गतका विभाग, शिक्षण अस्पताल, प्रयोगशाला तथा अन्य शैक्षिक पूर्वाधारका विषयमा प्रश्न तथा टिप्पणी सार्वजनिक भइरहेकाले ती विषयलाई विरोधका रूपमा मात्र नलिइ तथ्य, प्रमाण र स्पष्ट कार्ययोजनासहित सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले गेटा सुदूरपश्चिमको दशकौँदेखिको सपना, राज्यको ठूलो लगानी र भावी पुस्ताको स्वास्थ्य शिक्षासँग जोडिएको राष्ट्रिय महत्वको संस्था भएकाले यसको सुरुआत नै गुणस्तर, पारदर्शिता र जनविश्वासका आधारमा हुनुपर्ने उल्लेख गरेका छन् ।
विश्वविद्यालय प्रशासनले स्पष्ट समयसीमासहित प्रत्येक विभागमा आवश्यक नियुक्ति र कार्यरत विभागीय सदस्यको विवरण, शिक्षण अस्पतालमा उपलब्ध विशेषज्ञ सेवा तथा बिरामीको अवस्था, विद्यार्थीले पाउने ‘क्लिनिकल एक्स्पोजर’, प्रयोगशाला, उपकरण, पुस्तकालय, छात्रावास र अनुसन्धान पूर्वाधारको अवस्थाबारे सार्वजनिक जानकारी दिनुपर्ने उनको सुझाव छ ।
यसैगरी, अन्य अस्पतालसँग सहकार्य गरिएको भए त्यसको कानुनी तथा शैक्षिक स्वरूप र हाल सञ्चालनमा रहेको अस्पताललाई पूर्ण क्षमताको शिक्षण अस्पतालका रूपमा विस्तार गर्ने समयसीमा पनि स्पष्ट गर्न उनले आग्रह गरेका छन् ।
सांसद चन्दले विश्वविद्यालयले तत्काल १५ दिनदेखि एक वर्षसम्मको समयबद्ध कार्ययोजना सार्वजनिक गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनले १५ दिनभित्र विभाग, अस्पताल सेवा, प्रयोगशाला, उपकरण तथा उपलब्ध पूर्वाधारको तथ्यगत विवरण सार्वजनिक, एक महिनाभित्र विभागगत जनशक्ति, खरिद र शैक्षिक पूर्वाधारको कमी पहिचान गरी कार्ययोजना सार्वजनिक गर्न आग्रह गरेका छन् ।
तीन महिनाभित्र आवश्यक विभागीय सदस्य नियुक्तिको प्रक्रिया, प्रयोगशाला तथा उपकरण व्यवस्थापन र क्लिनिकल शिक्षण व्यवस्था, छ महिनाभित्र अस्पताल सेवा, विशेषज्ञ जनशक्ति, रोग निदान तथा परीक्षण क्षमता र क्लिनिकल विभाग विस्तारको पहिलो चरण पूरा गर्नुपर्ने उनको सुझाव छ ।
यसैगरी १२ महिनाभित्र विश्वविद्यालयले घोषणा गरेको विस्तारित शिक्षण अस्पताल क्षमता, आवश्यक जनशक्ति र प्रमुख शैक्षिक संरचनाको लक्ष्य हासिल गर्ने गरी काम गर्न तथा प्रत्येक तीन महिनामा प्रगति प्रतिवेदन सार्वजनिक गर्न सांसद चन्दले आग्रह गरेका छन् ।
“जहाँ भ्रम छ, तथ्य दिऔँ, जहाँ कमजोरी छ, सुधार गरौँ र जहाँ तयारी पूरा भएको छ, प्रमाणसहित जनतालाई जानकारी दिऔँ”, उनले भनेका छन्, “गेटामा एमबिबिएस सञ्चालन हुनु स्वास्थ्य शिक्षाको कार्यक्रम सुरु गर्ने विषय मात्र नभई सुदूरपश्चिमको स्वास्थ्य सेवा, रोजगारी, अनुसन्धान, क्षेत्रीय विकास र युवाको भविष्यसँग जोडिएको विषय भएकाले यसलाई पारदर्शिता, गुणस्तर र साझा जिम्मेवारीबाट सफल बनाउनुपर्छ ।”
यहाँ चिकित्सा शिक्षा आयोगको टोलीले निरीक्षण गरेपछि विश्वविद्यालय सञ्चालनका विषयमा विभिन्न कोटबाट चर्चा भइरहेका छन् ।




प्रतिक्रिया