काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको विवादास्पद अडियोबारे आफ्नो कुनै संलग्नता नरहेको बताएकी छन्।
संघीय संसद्को कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बिहीबार सांसदहरूले अडियो प्रकरणबारे प्रश्न उठाएपछि मन्त्री चौधरीले अडियोमा कुराकानी गर्ने व्यक्तिहरूसँग आफ्नो कुनै चिनजान तथा व्यक्तिगत वा पारिवारिक सम्बन्ध नरहेको बताएकी हुन्।
यसअघि सार्वजनिक भएको अडियोमा दुई व्यक्तिले कृषिमन्त्री चौधरी, गृहमन्त्री सुधन गुरुङ र रास्वपा सांसद ठाकुरसिंह थारुसहितका व्यक्तिको नाम लिँदै लेनदेनबारे कुराकानी गरेको सुनिएको थियो। कुराकानीका क्रममा एक व्यक्तिले मन्त्री चौधरीलाई आफ्नो ‘मामाकी छोरी’ भनेरसमेत चिनाएका थिए।
समितिको बैठकमा जवाफ दिँदै मन्त्री चौधरीले भनिन्, ‘अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन । व्यक्तिगत, पारिवारिक कुनै सम्बन्ध छैन ।’
उनले उक्त विषय कानुनी प्रक्रियामा प्रवेश गरिसकेको र अनुसन्धान भइरहेकाले यसबारे थप टिप्पणी गर्न नमिल्ने बताइन्।
मन्त्री चौधरीले आफू सुशासनका लागि काम गर्दै आएको उल्लेख गर्दै प्रमाणबिना आरोप तथा टीकाटिप्पणी नगर्न आग्रह गरिन्। ‘हामी सुशासनका लागि आएका हौँ । प्रमाण छ भने म फेस गर्न तयार छु,’ उनले भनिन्।




प्रतिक्रिया