काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले विपद्का बेला राजनीतिक आरोप–प्रत्यारोपभन्दा माथि उठेर सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विपद् प्रभावित नागरिकलाई राहत, पुनर्स्थापना र पुनर्निर्माणमा सहयोग पुर्याउन संघ, प्रदेश र स्थानीय तहसँगै प्रतिपक्षी दल तथा नागरिक समाजको समन्वय आवश्यक रहेको बताए।
पराजुलीले जलवायु परिवर्तनका कारण बाढी, पहिरो र डुबानजस्ता विपद्का घटना बढिरहेको उल्लेख गर्दै यस्ता घटनालाई सामान्य मौसमी समस्या मात्रै ठान्न नहुने धारणा राखे। हिमालय क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्दै यसको संरक्षणका लागि नेपालले अन्तर्राष्ट्रियस्तरमा निरन्तर पहल गर्नुपर्ने उनको भनाइ थियो।
प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घीय महासभामा भएको सम्बोधनले जलवायु न्यायका विषयमा नेपालको धारणा विश्वसामु प्रस्तुत गरेको उल्लेख गर्दै उनले अब त्यसलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय साझेदारी र प्रविधि हस्तान्तरणमा जोड दिनुपर्ने बताए।
संसदीय विशेष समितिको जिम्मेवारीमा रहेका पराजुलीले विपद्का कारण र प्रभावबारे वैज्ञानिक अध्ययन गरी पूर्वाग्रहरहित ढंगले परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाए।
सुशासनका विषयमा उनले दलीय हस्तक्षेप र भागबण्डाका कारण कमजोर बनेको प्रशासनिक प्रणाली सुधार गर्न समय लाग्ने भए पनि सरकार विधि र निष्पक्षताको दिशामा अघि बढिरहेको दाबी गरे। कर्मचारी सरुवामा डिजिटल प्रणाली, अनलाइन सेवा विस्तार र सार्वजनिक जग्गा संरक्षणलाई उनले सुशासनका प्रारम्भिक कदमका रूपमा व्याख्या गरे।
भ्रष्टाचार र घुसखोरी नियन्त्रणका लागि नागरिकको सहयोग आवश्यक रहेको उल्लेख गर्दै पराजुलीले चाडपर्वको समयमा विपद् प्रभावित नागरिकको दुःखमा साथ दिन सबै नेपालीलाई आग्रह गरे।




प्रतिक्रिया