लोकप्रिय मतसहित निर्वाचित निर्मला क्षेत्रीको प्रतिबद्धता: “एक-एक मतको सम्मान कर्मबाट गर्नेछु”


अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले मतदाताको विश्वासलाई जिम्मेवारीका रूपमा आत्मसात् गर्दै संगठन, एकता र लोकतान्त्रिक मूल्यको पक्षमा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

पत्रकार भेटघाट कार्यक्रममा क्षेत्रीले आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराउने सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, क्षेत्रीय तथा पालिका-वडा सभापति, कार्यसमिति, अग्रज, साथीभाइ, शुभेच्छुक र समर्थकप्रति हृदयदेखि आभार व्यक्त गरिन्।

उनले भनिन्, “यो विजय मेरो मात्र होइन, तपाईंहरूको विश्वास, साथ र भरोसाको सम्मान हो। प्राप्त मतलाई जिम्मेवारीका रूपमा आत्मसात् गर्दै एक-एक मतको सम्मान कर्मबाट गर्नेछु।”

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश पुर्ब सचेतक रहेकी क्षेत्रीले नेपाली कांग्रेस अर्घाखाँचीको अधिवेशनलाई शान्तिपूर्ण, भव्य र सभ्य रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्वाचन समितिप्रति विशेष धन्यवाद व्यक्त गरिन्। उनले प्रमुख निर्वाचन अधिकृत अन्जु रेग्मी लगायत निर्वाचन मण्डलले निष्पक्ष र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गराउन गरेको भूमिकाको प्रशंसा गरिन्।

त्यसैगरी, नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति केशव श्रेष्ठ लगायत जिल्ला कार्यसमिति, प्रदेश सभा ‘क’ का सभापति राजेशकुमार पन्थी तथा प्रदेश सभा ‘ख’ का सभापति हेमन्त बेल्बासे लगायत सम्बन्धित कार्यसमितिलाई पनि उनले अधिवेशन सफल बनाउन गरेको योगदानका लागि धन्यवाद दिइन्।

नेतृत क्षेत्रीले लोकतान्त्रिक प्रक्रियामा जित-हार स्वाभाविक पक्ष भएको उल्लेख गर्दै निर्वाचनको मत परिणामलाई विनम्रतापूर्वक स्वीकार गर्ने बताइन्। “तपाईंहरूले दिनुभएको माया, विश्वास र साथलाई आगामी राजनीतिक यात्राको शक्ति र जिम्मेवारीका रूपमा लिनेछु,” उनले भनिन्।

क्षेत्रीले आफ्नो कुनै शब्द वा व्यवहारबाट कसैको मन दुखेको भए त्यसप्रति क्षमायाचना गर्दै क्षेत्रीले निर्वाचनमा निर्वाचित सम्पूर्ण प्रतिनिधि तथा पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरिन्।

लामो समयदेखि नेपाली कांग्रेसको संगठन र लोकतान्त्रिक आन्दोलनमा सक्रिय क्षेत्रीको लोकप्रिय मतसहितको विजयलाई अर्घाखाँची कांग्रेसभित्र उनको राजनीतिक प्रभाव र संगठनप्रतिको विश्वासका रूपमा कार्यकर्ताहरूले लिएका छन्।

१५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएपछि क्षेत्रीले आगामी दिनमा संगठन सुदृढीकरण, पार्टी एकता र नयाँ पुस्ताको सक्रिय सहभागितालाई प्राथमिकतामा राख्ने संकेत गरेकी छन्।

“विश्वासलाई मतमा सीमित नराखी जिम्मेवारीमा रूपान्तरण गर्नेछु,” क्षेत्रीको प्रतिबद्धता छ।