काठमाडौं । सर्लाहीको विष्णु गाउँपालिकाकी दीपिका झा थानकोटमा गाडीको ठक्करबाट घाइते भएपछि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत छिन्। तर, अस्पतालमा उपचार गराइरहेकी दीपिकालाई यातायात व्यवसायी तथा सम्बन्धित समितिले बेवास्ता गरेको परिवारले गुनासो गरेको छ।
भदौ २४ गते बिहान करिब १० बजे कलेजबाट घर फर्किने क्रममा थानकोट क्षेत्रमा थानकाेट नगर यातायातकाे बा २ ख ९३२४ नम्बरकाे गाडीले ठक्कर दिँदा दीपिका घाइते भएकी थिइन्। दुर्घटनापछि उनलाई तत्काल एपीएफ अस्पताल लगिएको थियो।
दीपिकाका बुवा धीरेन्द्र झाका अनुसार एपीएफ अस्पतालमा भएको उपचार खर्च यातायात समितिले व्यहोरेको थियो। तर, थप उपचारका लागि बाँसबारी न्युरो अस्पतालमा ल्याएपछि भने यातायात सञ्चालक तथा समितिले चासो नदिएको उनको गुनासो छ।
‘बाँसबारी ल्याएपछि फोनसमेत उठाउन छाडेका छन्,’ झाले भने, ‘छोरीको अवस्था गम्भीर छ। उपचार खर्च पनि दिएकाे छैन ।’
उनका अनुसार आज बिहानदेखि अस्पतालले समेत उपचारमा पर्याप्त ध्यान दिएकाे छैन । चिकित्सकहरूले उपचार भइरहेको बताए पनि छाेरीको स्वास्थ्यमा अपेक्षित सुधार नदेखिएको उनले बताए । आइसियुमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई सामान्य वार्डमा राखिएकाे छ । प्रहरी,यातायात समिति र अस्पताल प्रशासनकाे मिलेमताेमाे उपचारमा लापरबाही गरिरहेकाे उनकाे आराेप छ ।
यता, थानकोट प्रहरी वृत्तका डीएसपीले घटनामा प्रहरीले कानुनी प्रक्रिया अघि बढाइसकेको जानकारी दिए। उनका अनुसार दुर्घटनामा संलग्न गाडी चालकलाई तत्काल नियन्त्रणमा लिएर सवारी अङ्गभङ्गसम्बन्धी मुद्दा अघि बढाइएको छ।





प्रतिक्रिया