काठमाडौं । नेकपा (एमाले) की राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीले सरकार फाँसीवादतर्फ उन्मुख भएको आरोप लगाएकी छन्।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै झाँक्रीले पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्नुको आधार र कारणबारे सरकारले स्पष्ट जवाफ दिन नसकेको बताइन्। उनले सरकारलाई आफ्ना कदमको औचित्य पुष्टि गर्नसमेत कठिन भइरहेको टिप्पणी गरिन्।
कार्यकारी प्रमुखमा निहित शक्तिको दुरुपयोग गर्दै सरकारले न्यायपालिका र व्यवस्थापिकामाथि अप्रत्यक्ष प्रहार गरिरहेको आशंका व्यक्त गर्दै उनले आपत्ति जनाइन्। कुनै आधार, प्रमाण वा स्पष्ट कारणबिना पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको उनको भनाइ थियो।
‘फाँसीवाद वा तानाशाही व्यवस्था कसरी आउँछ भनेर दुनियाँमा धेरै किताबहरू लेखिएका छन्। हामी अहिले यस्तै अभ्यास गर्न अभिशप्त हो कि जस्तो देखिन्छ,’ उनले भनिन्, ‘अस्ति मात्रै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा गिरफ्तारीमा पर्नुभयो, तर सरकारसँग जवाफ छैन।’
कार्यकारी प्रमुखमा असीमित शक्ति रहेको ठानेर न्यायालय र व्यवस्थापिका दुवै अंगमाथि अप्रत्यक्ष प्रहार गरिएको हो कि भन्ने आशंका उत्पन्न भएको उनले बताइन्।
जबराको गिरफ्तारीबारे सत्यतथ्य सार्वजनिक गर्न राष्ट्रिय सभा अध्यक्षमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई संसद्मा उपस्थित गराई कडा प्रश्न गर्नुपर्ने झाँक्रीको माग छ।




प्रतिक्रिया