सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि डा. सुनील शर्मा मोरङ–३ बाट अत्यधिक बहुमतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। मोरङ–३ मा खसेको ७९० सदरमतमध्ये शर्माले ६५० मत प्राप्त गर्दै ८२ दशमलव २८ प्रतिशत मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।

शर्माले प्राप्त गरेको मतले कांग्रेसको १५औँ महाधिवेशनमा उनको राजनीतिक सक्रियता र नेतृत्वसम्बन्धी चासोलाई थप बलियो बनाएको छ। वडा अधिवेशनबाटै उनको महाधिवेशन यात्रा सर्वसम्मत रूपमा अघि बढेको थियो। उनी बेलबारी नगरपालिका–४ बाट वडा प्रतिनिधिमा सर्वसम्मत भएका थिए।

यसअघि नै डा. शर्मा कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने तयारीमा रहेको चर्चा हुँदै आएको छ। पार्टीको नयाँ नेतृत्व र पदाधिकारी चयनलाई लिएर बहस चलिरहेका बेला शर्माले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन्। स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका शर्मा पछिल्लो समय पार्टीभित्र नेतृत्वको भूमिकामा पनि चर्चामा छन्।

शर्मा नेपाली कांग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय छन्। १३औँ महाधिवेशनदेखि महासमिति सदस्य रहँदै आएका उनी अहिले १५औँ महाधिवेशनको प्रक्रियामा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेका हुन्। वडा तहबाट सर्वसम्मत रूपमा सुरु भएको उनको महाधिवेशन यात्रा अब केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेको छ।

१५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षीका रूपमा शर्माको नाम चर्चामा रहेका बेला मोरङ–३ बाट प्राप्त ६५० मतले उनको राजनीतिक यात्राप्रति थप चासो बढाएको छ। नेता र कार्यकर्ताबीचको दूरी घटाउँदै प्रत्यक्ष रूपमा जनतासँग जोडिएर राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्ने शर्मा आफूलाई जनतासँग निरन्तर जोडिने नेताका रूपमा स्थापित गर्दै आएका छन्। राजनीति जनतासँग प्रत्यक्ष जोडिनुपर्ने र जनताका समस्या तथा आवश्यकतासँग नजिक रहेर काम गर्नुपर्ने उनको धारणा छ।