तनहुँ। तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन हजार ३३४ क्युफिट काठ उत्पादन गरिएको छ । वन व्यवस्थापनका क्रममा साल, कटुस तथा चिलाउनेलगायत प्रजातिका रूख कटान गरी काठसँगै दाउरा पनि उत्पादन गरिएको हो।
डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले जिल्लाका विभिन्न सामुदायिक वनमा वन व्यवस्थापन कार्यक्रम सञ्चालन गरी काठ तथा दाउरा उत्पादन गरिएको बताए। वनको अवस्था, उमेर, घनत्व तथा व्यवस्थापन योजनाका आधारमा रूख हटाएर वनको पुनरुत्पादन र उत्पादकत्व कायम गर्ने उद्देश्यले व्यवस्थापन गरिएको उनले जानकारी दिए
रानाभाटका अनुसार शुक्लागण्डकी नगरपालिका-९ स्थित ढोरबाराही सामुदायिक वनबाट १३० क्युफिट सालको काठ र दुई दशमलव पाँच चट्टा दाउरा उत्पादन भएको छ । त्यस्तै, भानु नगरपालिका-७ स्थित थानीमाई सामुदायिक वनबाट ४३१ दशमलव २६ क्युफिट सालको काठ तथा दुई दशमलव ५५ चट्टा दाउरा उत्पादन गरिएको छ।
ऋषिङ गाउँपालिका-४ स्थित गुम्लेक सामुदायिक वनबाट साल, कटुस र चिलाउने प्रजातिका गरी २०० क्युफिट काठ तथा दुई चट्टा दाउरा उत्पादन भएको छ । बन्दीपुर गाउँपालिका-१ स्थित छपेली सामुदायिक वनबाट ७० क्युफिट सालको काठ र छ चट्टा दाउरा उत्पादन गरिएको कार्यालयले जनाएको छ।
यसैगरी, म्याग्दे गाउँपालिका-१ स्थित टुनीभञ्ज्याङ सामुदायिक वनबाट साल र चिलाउने प्रजातिका ५३५ क्युफिट काठ तथा तीन चट्टा दाउरा उत्पादन भएको छ । व्यास नगरपालिका-२, ३ र ४ मा पर्ने बाघभञ्ज्याङ सामुदायिक वनबाट ११८ क्युफिट सालको काठ र दुई चट्टा दाउरा उत्पादन गरिएको छ।
घिरिङ गाउँपालिका-१ स्थित नीलकण्ठ सामुदायिक वनबाट १५० क्युफिट सालको काठ तथा एक दहमलव पाँच चट्टा दाउरा उत्पादन भएको छ। जिल्लामै सबैभन्दा बढी काठ देवघाट गाउँपालिका-५ स्थित साँढेबगर सामुदायिक वनबाट उत्पादन भएको छ । उक्त वनबाट एक हजार ७०० क्युफिट सालको काठ तथा तीन चट्टा दाउरा उत्पादन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार यी सामुदायिक वनबाट उत्पादित काठको परिमाणमा साँढेबगर सामुदायिक वनको हिस्सा मात्रै आधाभन्दा बढी रहेको छ । वन व्यवस्थापनका क्रममा उत्पादित काठ तथा दाउरालाई प्रचलित कानुन तथा सामुदायिक वनको कार्ययोजनाअनुसार व्यवस्थापन तथा उपयोग गरिने जनाइएको छ ।
डिभिजन वन कार्यालयले वन व्यवस्थापनलाई केवल रूख कटानका रूपमा नभई वनको स्वास्थ्य सुधार, पुराना तथा रोगी रूख हटाउने, नयाँ बिरुवाको वृद्धि प्रवद्र्धन गर्ने र वनबाट प्राप्त स्रोतलाई स्थानीय उपभोक्ताको आवश्यकतासँग जोड्ने प्रक्रियाका रूपमा अघि बढाउँदै आएको जनाएको छ।
वन व्यवस्थापनबाट प्राप्त काठ स्थानीय उपभोक्ताको घरायसी तथा आवश्यकताअनुसार उपयोग गर्न सकिने भएकाले यसले वन स्रोतको दिगो उपयोगमा सहयोग पुग्ने कार्यालय प्रमुख रानाभाटले बताए। रासस




प्रतिक्रिया