बाढी–पहिरोले देशभरका प्रमुख सडक अवरुद्ध,कुनको अवस्था के छ ? (सूचीसहित)


काठमाडौं । लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ। काठमाडौँ उपत्यका जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

बागमती प्रदेशको रसुवामा पनि बाढीका कारण मुख्य राजमार्गहरू अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको छ।

गण्डकी प्रदेशका विभिन्न सडक खण्डमा समेत बाढी र पहिरोले यातायात सेवा प्रभावित बनाएको छ। मनाङको बेशीसहरदेखि खाङ्सारसम्मको सडक बाढीका कारण पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्डमा आवागमन ठप्प भएको छ।

नवलपरासी पूर्वमा पर्ने कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार र बौदीकालीका विभिन्न स्थानमा पहिरो खसेको भए पनि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। तर, ठूला सवारी साधन भने सञ्चालन हुन सकेका छैनन्।

यता, कर्णाली प्रदेशको हुम्लामा पनि पहिरोका कारण कर्णाली करिडोर तथा सिमकोट–हिल्सा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। खार्पुनाथ, सर्केगार्ड, नाम्खा र सिमकोट गाउँपालिकाका विभिन्न स्थानमा पहिरो गएपछि यातायात सेवा ठप्प भएको हो।