काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१५ बस्ने काभ्रे घर भएका ३२ वर्षीय विरेन्द्र तामाङ, काठमाडौं महानगरपालिका-९ बस्ने मकवानपुर घर भएका ३८ वर्षीय कमल प्रसाद गौतम, काठमाडौं महानगरपालिका-१४ बस्ने अछाम घर भएका ३३ वर्षीय गणेश बहादुर बुढा र काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ बस्ने रामेछाप घर भएका ४४ वर्षीय बद्रि कुमार तामाङ रहेका छन् ।
पक्राउ मध्ये विरेन्द्रले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ, कमलले रोमानिया पठादिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, गणेशले अष्ट्रेलिया र क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ र बद्रिले पोल्याण्ड पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट २१ लाख ८९ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विरेन्द्रलाई ललितपुर महानगरपालिका-३ बाट, कमललाई काठमाडौं महानगरपालिका-७ बाट र गणेशलाई काठमाडौं महानगरपालिका-१३ बाट मंगलबार तथा बद्रिलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ बाट बुधबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।




प्रतिक्रिया