पर्यटनमन्त्री भन्छन्- ‘निजी कम्पनी भएको भए नेपाल एयरलाइन्स बन्द भइसक्थ्यो’


काठमाडौँ । पर्यटनमन्त्री खड्कराज पौडेलले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को चरम अव्यवस्थापन र वित्तीय अवस्थाप्रति गम्भीर चिन्ता र असन्तुष्टि व्यक्त गरेका छन्।

संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको ‘अन्तर्राष्ट्रिय तथा पर्यटन समिति’ को बैठकमा निगमको वर्तमान अवस्था र चुनौतीका विषयमा भइरहेको छलफलमा सहभागी हुँदै मन्त्री पौडेलले निगमको कार्यशैलीलाई लिएर असन्तुष्टि व्यक्त गरेका हुन्।

समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले निगम सुधारका लागि केवल नयाँ जहाज खरिद गर्नु वा थप्नु मात्रै अचुक उपाय नभएको बताए । उनले जहाज थपेर मात्रै संस्थाले मुनाफा कमाउन नसक्ने भन्दै सबैभन्दा पहिले संस्थाको समग्र व्यवस्थापन चुस्त र दुरुस्त हुनुपर्नेमा जोड दिए। पछिल्लो समय निगमका जहाजहरूमा देखिएको प्राविधिक समस्या र त्यसको आर्थिक क्षति बारे उनले व्यवस्थापकीय कमजोरी भएको बताए ।

केही समयअघि मात्रै टोकियो र युरोपमा निगमका दुईवटा जहाजहरू ग्राउन्डेडभएको घटनालाई स्मरण गराउँदै मन्त्री पौडेलले त्यसको प्रत्यक्ष मार निगमको ढुकुटीमा परेको बताए। जहाज ग्राउन्डेड भएपछि पूर्व निर्धारित उडानका लागि टिकट काटिसकेका यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउन वा उनीहरूको उचित व्यवस्थापन गर्नुपर्दा निगमलाई करोडौं रुपैयाँ अतिरिक्त खर्च लाग्ने गरेको उनले बताए ।