विदेश तथा अन्तरजिल्लाबाट मतदानबारे आयोगले दलहरूसँग छलफल गर्दै


काठमाडौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्लाबाट मतदानको व्यवस्था गर्ने विषयमा राजनीतिक दलहरूसँग छलफल थालेको छ। आयोगले यस विषयमा सहमति जुटाउन आज शुक्रबार केन्द्रीय कार्यालयमा तीनै तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गर्दैछ।

छलफलमा ४० भन्दा बढी राजनीतिक दलका प्रतिनिधिलाई बोलाइएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए। उनका अनुसार निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगबारे पनि दलहरूसँग छलफल हुनेछ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४७ अनुसार छलफल आयोजना गरिएको आयोगले जनाएको छ।

विदेशमा रहेका नेपाली तथा अन्तरजिल्लाबाट मतदानको व्यवस्था गर्नुपर्ने माग लामो समयदेखि उठ्दै आए पनि कानुनी र व्यवस्थापकीय जटिलताका कारण कार्यान्वयन हुन सकेको छैन। आयोगले यससम्बन्धी एकीकृत कानुनको मस्यौदा तयार गरी गृह मन्त्रालयमा पठाएको लामो समय भए पनि प्रक्रिया अघि बढ्न सकेको छैन।