काठमाडौं, असोज १६ । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको Kathmandu Climate Week 2026 ले जलवायु परिवर्तन, जलवायु न्याय र दिगो विकासका विषयमा नीति निर्माता, विज्ञ, युवा नेतृत्व तथा प्राविधिक क्षेत्रका व्यक्तिहरूलाई एउटै मञ्चमा ल्याएको छ। कार्यक्रम अक्टोबर २ देखि ४ सम्म सञ्चालन हुँदैछ।
यसै सन्दर्भमा डा. महेश्वर ढकाल र इन्जिनियर किरण केसीबीच जलवायु परिवर्तन तथा काठमाडौंको भविष्यसँग जोडिएका विषयमा विचार–विमर्श भएको छ। छलफलमा जलवायु परिवर्तनको प्रभावलाई केवल वातावरणीय विषयका रूपमा नभई सहरको पूर्वाधार, पानी, फोहोर व्यवस्थापन, हरियाली, ऊर्जा, प्रविधि र नागरिक सेवासँग जोडेर हेर्नुपर्ने विषयमा केन्द्रित भएको बताइएको छ।
जलवायु परिवर्तन व्यवस्थापन क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका डा. ढकालले नेपालमा जलवायु जोखिम, हिमाली क्षेत्रमा परेको प्रभाव तथा स्थानीय तहको जलवायु अनुकूलनको महत्त्वबारे सार्वजनिक रूपमा धारणा राख्दै आएका छन्।
त्यस्तै, इन्जिनियरिङ पृष्ठभूमिका किरण केसीले काठमाडौंलाई भविष्यका जलवायु जोखिम सामना गर्न सक्ने, प्रविधिमैत्री र दिगो सहरका रूपमा विकास गर्नुपर्ने विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन्।
विशेषगरी “Climate Action लाई स्थानीय तहबाटै सुरु गर्नुपर्छ” भन्ने अवधारणाअन्तर्गत काठमाडौंका सडक, भवन, खानेपानी, ढल, फोहोर व्यवस्थापन, सार्वजनिक यातायात तथा हरित पूर्वाधारलाई जलवायु–मैत्री बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ।
Kathmandu Climate Week 2026 को यस वर्षको मुख्य विषय “Climate Justice for Building Climate Resilience: From Local Action to Global Climate Diplomacy” रहेको छ। कार्यक्रमले स्थानीय अनुभवलाई राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय जलवायु कूटनीतिसँग जोड्ने उद्देश्य राखेको छ।
काठमाडौंलाई जलवायु संकटको प्रभाव भोग्ने सहर मात्र होइन, समाधानको नेतृत्व गर्ने सहर बनाउने विषयमा विज्ञता र इन्जिनियरिङ दृष्टिकोणबीचको सहकार्य महत्वपूर्ण हुने देखिन्छ।




प्रतिक्रिया