प्रतिनिधिसभाः मेडिकल कलेजमा विद्यार्थीका समस्यादेखि सडक दुर्घटनासम्मका विषयमा ध्यानाकर्षण


काठमाडौँ, १६ असोज । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले वीरगञ्जस्थित मेडिकल कलेजमा विद्यार्थीले भोगिरहेका समस्यादेखि मुलुकका विभिन्न स्थानमा भएका दुर्घटनाको विषय उठाएका छन् ।

बैठकमा सांसद सांसद रहबर अन्सारीले वीरगञ्जस्थित मेडिकल कलेजमा नक्कली चिकित्सक र चर्को शुल्कको समस्याबाट विद्यार्थीलाई मुक्ति दिन माग गरे ।

सांसद क्षितिज थेबेले मध्यवर्ती क्षेत्रको बफरजोनका बासिन्दाको दैनिकी सङ्घर्षमय भएकाले बफरजोन क्षेत्र हटाउनुपर्ने विषयमा ध्यानाकर्षण गराए ।

सांसद रविन महतोले सर्लाहीका एक बालक विद्युतीय तारमा करेन्ट लागेर गम्भीर घाइते भएकाले निःशुल्क उपचार र परिवारलाई क्षतिपूर्ति दिन माग गरे । सांसद धनेन्द्र कार्कीले पछिल्लो समय सडक दुर्घटना बढ्दो रुपमा भएको पाइएकाले यसको न्यूनीकरणका लागि सचेत हुन आग्रह गरे ।

बैठकको प्रारम्भमा समय माग गरेर सांसद धु्रवराज राईले यस अधिवेशनका नराम्रा प्रवृत्ति आगामी अधिवेशनमा नदोहोरियोस् र प्रतिपक्षका आवाजको सुनुवाइ होस् भनी आग्रह गरे ।