काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले सरकारप्रति जनताको निराशा बढ्दै गएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूहरूले प्रधानमन्त्रीसँग उठाएका प्रश्नको जवाफ चालु अधिवेशनमा नपाएको गुनासो गरे।
उनले संसदबाट ‘रित्तै घर फर्किनुपरेको’ भन्दै दुःख व्यक्त गरे ।
‘सरकार प्रमुखलाई प्रश्न उठाएका थियौँ। त्यसको उत्तर पाएनौँ। सदनबाट आज म रित्तै भोजपुरे जनताहरूको घरआँगनसम्म म फर्किँदै छु, तर उत्साहका साथ फर्केको छैन।’
सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राईले यस्तै अवस्था रहे भदौ २३ र २४ को आन्दोलनजस्तो परिस्थिति दोहोरिन सक्ने आशंका व्यक्त गरे।
‘मलाई त डर लागिरहेको छ, हिजो २३ र २४ को आन्दोलनतिर पुरानो दल भनिएको नेताहरूका गतिविधिको कारणले भ्रष्टाचार गर्यो, धेरै पैसा कमायो भनेर घरहरू जलेको थियो। अब हामीले हाम्रो घरहरू जोगाउन निकै मुस्किल पर्ला कि !’
उनले आगामी अधिवेशनमा प्रधानमन्त्रीले आफूहरूले उठाएका प्रश्नको जवाफ दिने अपेक्षा व्यक्त गरे। साथै, सरकारलाई आफ्नै कारणले संकट निम्त्याउने अवस्था नबनाउन आग्रह गरे।
‘फेरि अब ३ महिनापछि हाम्रो भेट होस्, तपाईँहरू आफैँले आफ्नो सरकार नढाल्नुहोला। फेरि पनि सम्पूर्ण प्रतिपक्षहरूको तर्फबाट हाम्रो मागलाई जे अपमान गरियो, अबको सुरु हुने सदनमा त्यस्तो नहोस्।’




प्रतिक्रिया