राज्य अरूको दुःखमा केवल टेको लगाउने होइन, आफैँ पीडितको टेको बन्नुपर्छ: सचेतक धिताल


काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले पछिल्ला घटनासँगै पुराना पीडितका मुद्दा ओझेलमा पर्ने प्रवृत्तिप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एउटा घटना सेलाउन नपाउँदै अर्को घटना चर्चामा आउने र त्यससँगै अघिल्लो घटनाका पीडितको न्यायको विषय हराउँदै जाने अवस्था देखिएको बताइन्।

विभिन्न घटनाको उदाहरण दिँदै धितालले राज्यले नागरिकको पीडामा विभेद गर्न नहुने धारणा राखिन्।

‘देशमा एउटा दुःख आउँछ, केही दिन हामी चासो दिन्छौँ। तर अर्को घटना सार्वजनिक हुनासाथ अघिल्लो पीडा बिस्तारै ओझेलमा पर्छ। हामीलाई एक प्रकारले दुःखको लत लागेको छ।’

उनले जेन–जी आन्दोलन, मधेसको साम्प्रदायिक दङ्गा, गणेशको आत्मदाह, गरिमाको बलात्कारपछिको हत्या र रसुवा बाढीलगायतका घटनाको चर्चा भइरहँदा सुकुमबासीका समस्या तथा बाढीमा बेपत्ता बालबालिकाको खोजीसमेत ओझेलमा परेको बताइन्।

‘राज्य अरूको दुःखमा केवल टेको लगाउने होइन, आफैँ पीडितको टेको बन्नुपर्छ। केही दिनको सहानुभूतिमा मात्र सीमित नभई, पीडितको जीवन सामान्य नहुञ्जेलसम्म राज्य परिणाममुखी ढङ्गले उनीहरूको साथमा उभिनुपर्छ।’

धितालले राज्यको उपस्थिति औपचारिकतामा मात्र सीमित नराखी पीडितको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने गरी काम गर्न सरकारसँग आग्रह गरिन्।