बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा देवराज रोका नियुक्त


काठमाडौँ । बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा देवराज रोका नियुक्त भएका छन्। मुख्यमन्त्री किरण थापा मगरले काठमाडौंको पेप्सीकोलाका स्थायी बासिन्दा रोकालाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले रोका सहित आयोगमा चार जनालाई नियुक्त गर्ने निर्णय गरेको हो। आयोगको सदस्यमा सुनिता गौतम, दीपक विक्रम थापा र सुरेन्द्रवर सिंह थापा नियुक्त भएका छन्।

नवनियुक्तमध्ये रोका र दीपक विक्रम थापा नेकपा एमालेको सिफारिसमा, सुरेन्द्रवर सिंह थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको सिफारिसमा र सुनिता गौतम नेकपाको सिफारिसमा नियुक्त भएका हुन्।

उपाध्यक्ष रोका तथा सदस्यद्वय दीपक विक्रम थापा र सुरेन्द्रवर सिंह थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्। आयोगकी सदस्य सुनिता गौतमको शपथ भने पछि हुने जनाइएको छ।