भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका पाइलट क्याप्टेन स्मित मच्छरसँग टेलिफोनमा कुराकानी गर्दै उनको साहस र सूझबुझको प्रशंसा गरेका छन्।
प्रधानमन्त्री मोदीले देशभर क्याप्टेन स्मितको शीघ्र स्वास्थ्यलाभ र दीर्घायुको कामना भइरहेको बताएका छन्। गम्भीर चोट लागेका अवस्थामा समेत यात्रुको ज्यान जोगाउन उनले गरेको निर्णयप्रति पूरै देश गर्वित रहेको मोदीले बताएका छन्।
मोदीले भने, ‘पूरै देश तपाईंको स्वास्थ्यलाभका लागि प्रार्थना गरिरहेको छ। ठाउँ–ठाउँमा महामृत्युञ्जय मन्त्रको जाप भइरहेको छ। तपाईंको साहस, धैर्य र सूझबुझले धेरै मानिसको ज्यान जोगिएको छ। तपाईंले भारतीयहरू ज्यान लिने होइन, ज्यान बचाउने मानिस हुन् भन्ने देखाउनुभएको छ।’
प्रधानमन्त्री मोदीले क्याप्टेन स्मित स्वयं गम्भीर घाइते भएर जीवन–मृत्युको संघर्षमा रहे पनि आफ्नो ज्यानको पर्वाह नगरी यात्रुको सुरक्षालाई प्राथमिकता दिएको बताएका छन्। उनको साहसिक कदमले १४० करोड भारतीयको गौरव बढाएको मोदीको भनाइ थियो।
कुराकानीका क्रममा क्याप्टेन स्मितले घटनाका बेला आफू लडेर घाइते भएको बताए। आफूलाई धेरै चोट लागेको भए पनि विमानभित्रको अवस्था बिग्रिँदै गएको महसुस भएपछि उठेर आवश्यक कदम चाल्नुपर्ने लागेको उनले प्रधानमन्त्रीलाई बताए।
‘म १७ वर्षदेखि विमान उडाउँदै आएको छु र पछिल्ला ११ वर्षदेखि क्याप्टेन छु। विमानभित्र के भइरहेको छ भन्ने मलाई राम्रोसँग थाहा हुन्छ। म तल लडिरहेको अवस्थामा पनि परिस्थिति बिग्रिँदै गएको महसुस भइरहेको थियो,’ उनले भने।
क्याप्टेन स्मितका अनुसार उनले अन्तिम प्रयास गर्दै ककपिटको ढोका खोलेपछि अन्य व्यक्तिहरू पनि त्यहाँ प्रवेश गर्न सकेका थिए। यो प्रयासमा अन्य व्यक्तिहरूको समेत महत्वपूर्ण भूमिका रहेको उनले बताए।
‘म आफ्नो ज्यान बचाउने हिसाबले अघि बढिरहेको थिएँ। तर त्यही समयमा ती मानिसहरूलाई मर्न दिनु हुँदैन भन्ने मलाई थाहा थियो,’ उनले भने।
हनुमान चालिसाबाट हौसला
मोदीसँग कुराकानीका क्रममा क्याप्टेन स्मितले पीडाका बेला हनुमान चालिसा पाठ गरिरहने गरेको र भगवानले नै आफ्नो ज्यान बचाएको विश्वास रहेको बताए ।
‘जब पनि मलाई पीडा हुन्छ, मलाई एउटै कुरा याद आउँछ, म हनुमान चालिसा नै पढिरहेको हुन्छु। मलाई थाहा छ, भगवानले नै मलाई बचाउनुभएको हो’, उनले भने ।
क्याप्टेन स्मितले आफ्नो चोटलाई केवल घाउका रूपमा नलिएको बताए। उनले यसलाई बिस्तारै निको हुने एउटा यात्राका रूपमा लिएको र आफू पूर्ण रूपमा स्वस्थ हुनेमा विश्वस्त रहेको बताए ।
परिवारसँग पनि मोदीको कुराकानी
मोदीले क्याप्टेन स्मितका बुवा भूपेन्द्रभाइ, आमा गीताबेन र पत्नी सोनलबेनसँग भएको कुराकानीको पनि उल्लेख गरे । गीताबेनले स्मितलाई राम्रो संस्कार दिएको भन्दै उनले प्रशंसा गरे । सोनलबेनको साहस र संयमको पनि उनले प्रशंसा गरे ।
मोदीले सावरकुन्डलासहित देशका विभिन्न स्थानमा क्याप्टेन स्मितको दीर्घायु र शीघ्र स्वास्थ्यलाभका लागि पूजाआजा भइरहेको बताए । उनले पूरै भारत क्याप्टेन स्मित स्वस्थ भएर फर्किएको हेर्न प्रतीक्षारत रहेको बताए ।
मोदीले क्याप्टेन स्मितको उपचार र हेरचाहका लागि साउदी अरब र यूएई सरकारलाई पनि धन्यवाद दिए । आवश्यक परेको अवस्थामा आफू केवल एक फोनको दूरीमा रहेको उनले बताए । –बीबीसी हिन्दीबाट




प्रतिक्रिया