काठमाडौँ, १६ असोज । मदन भण्डारी मेमोरियल कलेज (एमबीएमसी) नयाँ बानेश्वरमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ आजदेखि सुरु भएको छ।
‘इनोभेसन फर इम्प्याक्ट’ नाराका साथ आयोजना गरिएको ह्याकाथनको चौथो संस्करणमा देशभरका २८ शैक्षिक संस्थाका ६७ प्रतियोगी सहभागी छन्। प्रतियोगिताका लागि देशभरबाट १६० टोलीले आवेदन दिएका थिए। अनलाइन मूल्याङ्कनपछि २० टोली अन्तिम चरणका लागि छनोट भएका हुन्।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीले नेपालका विभिन्न सामाजिक तथा सार्वजनिक समस्याको सूचना प्रविधिमा आधारित समाधान विकास गर्ने आयोजकले जनाएको छ। यस वर्षको ह्याकाथन जलवायु परिवर्तन, उत्थानशीलता तथा दिगोपना, पर्यटन, ई–गभर्नेन्स तथा स्मार्ट सार्वजनिक सेवा, स्मार्ट सहरी यातायात तथा सडक सुरक्षा र फिनटेक तथा डिजिटल वित्तीय नवप्रवर्तन गरी पाँच विषयगत क्षेत्रमा केन्द्रित छ।
ह्याकाथनको उद्घाटन गर्दै कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डेले अध्ययनसँगै समाजका समस्याको समाधान खोज्ने उद्देश्यले सूचना प्रविधिका विद्यार्थीबीच यस्तो प्रतियोगिता आयोजना गरिएको बताए। “सहभागी विद्यार्थी टोलीले नेपालकेन्द्रित समस्याको सूचना प्रविधिमा आधारित समाधानको खोजी गर्नेछन्”, उनले भने।
क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले कक्षाकोठामा सिकेको ज्ञानलाई समाजका वास्तविक समस्यासँग जोड्ने उद्देश्यले ह्याकाथन आयोजना गरिएको बताए। उनका अनुसार ‘आइडिया एक्स’ आदिवासी भाषा तथा सांस्कृतिक सम्पदाको संरक्षणमा केन्द्रित कार्यक्रमका रूपमा सुरु भएर अहिले राष्ट्रियस्तरको ह्याकाथनका रूपमा विस्तार भएको हो।
कार्यक्रम संयोजक तथा बीसीए संयोजक नवराज जोशीले ४८ घण्टाको अवधिमा सहभागी टोलीले समस्या पहिचान, समाधानको नमुना तयार र निर्णायक समक्ष प्रस्तुति गर्ने बताए। उनले सीमित समयमा टोलीमा काम गर्ने, निर्णय लिने र आफ्ना विचार प्रस्तुत गर्ने सीप विकासमा ह्याकाथन उपयोगी हुने उल्लेख गरे। प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख ११ हजार १११ रुपैंयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने पहिलो, दोस्रो र तेस्रो हुने टोलीलाई पुरस्कृत गरिने आयोजकले जनाइएको छ।




प्रतिक्रिया