काठमाडौँ, १६ असोज । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, काठमाडौँ महानगरपालिका, यातायात व्यवसायी तथा मजदुरको संयुक्त आयोजनामा आज नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
नयाँ स्थापना गरिएको यात्रु सहायता कक्षको आज काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले उद्घाटन गरे । कार्यक्रममा उनले चाडपर्वमा अन्य समयको तुलनामा यात्रु धेरै बढ्ने भएकाले उनीहरूलाई सुरक्षित गन्तव्यमा पुर्याउनु हामी सबैको दायित्व भएको बताए ।
प्रहरी अतिरिक्त महानिरीक्षक राठौरले क्षणिक स्वाथका लागि यात्रुलाई ठग्ने, लुट्ने, झुक्याउने गरेमा कारबाही हुने जनाउँदै यात्रुलाई पनि सावधानी अपनाउन आग्रह गरे । उनले सवारी सञ्चालनको बेलामा मापसे र लापसे नगर्न आग्रह गरे । टिकटको नाममा हुने कालोबजारी अन्त्य गर्न प्रहरी चनाखो हुने स्पस्ट पार्दै उनले यात्रुलाई टिकट लिएर यात्रा गर्न आग्रह गरे ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुन्यप्रसाद सिटौलाले विगतको वर्षभन्दा यस वर्ष चाडपर्वमा यातायात सञ्चालनमा केही समस्या रहेका बताए । देशभर परेको अविरल वर्षाले अधिकांश राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा सवारी सञ्चालनमा समस्या परेको उनले बताए ।
अध्यक्ष सिटौलाले समस्याको घडीमा पनि सुरक्षित तबरले सवारी सञ्चालन गरेकामा देशभरका चालकलाई धन्यवाद दिए । उनले बिग्रेका सडक चाँडो मर्मत सम्भार गर्न सरकारलाई आग्रह गरे । अध्यक्ष सिटौलाले चाडपर्वमा कालो नम्बर प्लेटका सवारीसाधनलाई प्राथमिकता दिनुपर्ने बताए । तोकिएकोभन्दा बढी भाडा नलिन उनले सबैलाई आग्रह गरे ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले चाडपर्वको समयमा हुने दुर्घटना न्यूनीकरण गर्न सबै लाग्नुपर्ने बताए । उनले चाडपर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जानकारी दिए ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका उपाध्यक्ष नवराज घिमिरेले चाडपर्वको मुखमा हुने दुर्घटना रोक्न यातायात क्षेत्रका चालकको महत्त्वपूर्ण भूमिका रहेको बताए । कार्यक्रममा प्रहरी, यातायात व्यवसायी, लोत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधि, चालक, सहचालक, महानगर प्रहरीको उपस्थिति थियो ।




प्रतिक्रिया