बौद्ध दर्शनकेन्द्रित शैक्षिक कार्यक्रम सञ्चालन गर्न शिक्षामन्त्रीको निर्देशन


बुटवल । शिक्षा तथा खेलकुदमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयलाई बौद्ध दर्शनमा केन्द्रित गर्दै शैक्षिक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका छन् ।

शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालयको अवलोकन भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालयले आफ्नो विशिष्ट पहिचान कायम राख्दै बौद्ध दर्शनको अध्ययन, अध्यापन र अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले विश्वविद्यालयले हाल सञ्चालन गरिरहेका शैक्षिक कार्यक्रमलाई क्रमशः बौद्ध दर्शनतर्फ केन्द्रित गर्ने सरकारको योजना रहेको जानकारी दिए । अन्य विषयका शैक्षिक कार्यक्रम सञ्चालनको जिम्मेवारी सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेका अन्य विश्वविद्यालयलाई दिन सकिने उनको भनाइ थियो ।

विश्वविद्यालयको उद्देश्य र पहिचानअनुसार, शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले सरकारको योजनाअनुसार विश्वविद्यालयले पनि आफ्ना शैक्षिक कार्यक्रमलाई व्यवस्थित गर्दै लैजानुपर्ने बताए ।

अवलोकनका क्रममा विश्वविद्यालयका उपकुलपति डा. माणिकरत्न शाक्यले विश्वविद्यालयको समग्र अवस्था, शैक्षिक गतिविधि तथा भावी योजनाबारे मन्त्री पोखरेललाई जानकारी गराएका थिए ।

रजिस्ट्रार इन्द्रप्रसाद काफ्लेले विश्वविद्यालयमा सञ्चालन भइरहेका विभिन्न शैक्षिक कार्यक्रम, शैक्षिक संरचना तथा गतिविधिबारे जानकारी गराएका थिए ।