रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापबाट चर्चित लोक तथा दोहोरी गायक एवं सर्जक प्रकाश कटुवाल केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
खुलातर्फ उम्मेदवारी दिएका कटुवाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
कलाकारितासँगै सक्रिय राजनीतिमा प्रवेश गरेका कटुवालले निर्वाचित भएपछि पार्टी संगठनसँगै कला, संस्कृति तथा सामाजिक क्षेत्रका मुद्दालाई नेतृत्व तहसम्म पुर्याउन भूमिका खेल्ने बताएका छन्।
नीति निर्माण र नेतृत्व तहमा सिर्जनशील क्षेत्रका व्यक्तिको सहभागिता बढाउनुपर्नेमा जोड दिँदै उनले रामेछापको पहिचान, युवाको सहभागिता र युवा अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘सिरानी टाङमुनी’, ‘यो रक्सीको गन्ध’, ‘चोर बिरालो पल्क्यो’, ‘मोही खाउला बोट्कामा’, ‘फूल फूल्यो केशरी’ र ‘छेकन जामाले’ लगायतका गीतमार्फत सांगीतिक क्षेत्रमा पहिचान बनाएका कटुवालले कलाकारिताबाट प्राप्त सामाजिक सम्बन्ध र अनुभवलाई अब राजनीतिक तथा सामाजिक सेवामा जोड्ने बताउँदै आएका छन्।
कटुवाल नेपाली कांग्रेस सभापति गगन थापाको नेतृत्व, विचार र कार्यशैलीबाट प्रभावित भएर सक्रिय राजनीतिमा आएको बताउँछन्। विशेष महाधिवेशनका बेला पनि उनी थापाको पक्षमा खुलेर उभिएका थिए।




प्रतिक्रिया