काठमाडौं । देशमा हाल मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावका कारण हिमाली तथा पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली देखिएको छ।
हाल कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। यस्तै, कोशी, मधेस तथा बागमती प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हुस्सु लागेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ। तराईका भूभागमा पनि आंशिक बादल लाग्नेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपात हुनसक्ने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा देशका अधिकांश तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।
तराई क्षेत्रमा बिहानको समयमा हुस्सु लाग्न सक्नेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।




प्रतिक्रिया