विद्यार्थी आन्दोलनबाट उदाएका श्रेष्ठलाई कांग्रेस केन्द्रीय समितिमा देख्न चाहन्छ युवा पुस्ता



काठमाडौं । विद्यार्थी आन्दोलनको मैदानबाट उदाएका युवा नेता राजेश कुमार श्रेष्ठलाई नेपाली कांग्रेसको केन्द्रीय समितिमा देख्न चाहने युवा पंक्तिको आवाज पछिल्लो समय बलियो बन्दै गएको छ।

नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिसकेका श्रेष्ठ कुनै समय संघको केन्द्रीय अध्यक्षका दाबेदारसमेत थिए। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सचिवमा प्रतिस्पर्धा गरेका उनी नेविसंघको विधान निर्माणदेखि संगठनलाई विधि, नीति र विचारका आधारमा अघि बढाउने अभियानमा सक्रिय रहँदै आएका छन्।

विद्यार्थी संगठनको अस्तित्वमाथि प्रश्न उठ्दा सडकमा उभिने होस् वा कठिन राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र विद्यार्थीको पक्षमा आवाज उठाउने कुरा—श्रेष्ठले आफूलाई सहज समयमा मात्रै होइन, चुनौतीका घडीमा पनि बोल्ने युवा नेताका रूपमा प्रस्तुत गर्दै आएका छन्।

राजनीतिसँगै सामाजिक सेवामा पनि उनको सक्रियता जोडिएको छ। जीवन सेवा अभियानमार्फत अभिभावकविहीन तथा विपन्न करिब ९० विद्यार्थीको शिक्षामा सहयोग गरिरहेको श्रेष्ठको अभियानले उनको राजनीतिलाई विद्यार्थीको वास्तविक जीवनसँग जोडेको देखिन्छ।

एमबीएस र अर्थशास्त्रमा एमए गरेका श्रेष्ठसँग विद्यार्थी आन्दोलन, नेविसंघको केन्द्रीय नेतृत्व र नेपाली कांग्रेसको क्षेत्रीय संगठनमा काम गरेको अनुभव छ।

त्यसैले अहिलेको चर्चा उनको उम्मेदवारी घोषणाको होइन ,विद्यार्थी आन्दोलनबाट खारिएको, युवाको पीडा बुझ्ने र पार्टीको नीति निर्माण तहमा नयाँ पुस्ताको आवाज पुर्‍याउन सक्ने राजेश कुमार श्रेष्ठजस्तो युवा नेपाली कांग्रेसको केन्द्रीय समितिमा हुनुपर्छ भन्ने युवा पंक्तिको चाहनाको हो।

पद खोज्नेभन्दा जिम्मेवारी बोक्ने, अवसर खोज्नेभन्दा युवाको आवाज बोल्ने नेतृत्वको खोजी भइरहेका बेला धेरै युवाको नजर राजेश कुमार श्रेष्ठतर्फ परेको छ।