अर्थमन्त्री वाग्लेको विदेश दौडधुप : भारत, दोहापछि पुगे अमेरिका


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई दिने भ्रमणका लागि अमेरिका पुगेका छन् । बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि सहयोग जुटाउने, एफएटीएफको ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्ने प्रयास तथा आर्थिक सुधार र लगानी विस्तारका विषयमा छलफल गर्न उनी अमेरिका गएका हुन् ।

विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा अर्थमन्त्री वाग्ले नेतृत्वको नेपाली प्रतिनिधिमण्डल शुक्रबार राति अमेरिकाको वासिङ्टन डीसी प्रस्थान गरेको हो । असोज १९ र २० गते (अक्टोबर ५–६) हुने भ्रमणका क्रममा उनले अमेरिकी सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा द्विपक्षीय सहयोग विस्तार, पुनर्निर्माण, एफएटीएफ ग्रे लिस्टबाट बहिर्गमन तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय र अमेरिकी डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) का उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन् । हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालनबारे पनि छलफल हुनेछ ।

त्यसैगरी सडक, विद्युत् प्रसारण लाइनलगायत महत्वपूर्ण पूर्वाधारमा लगानी बढाएर नेपालमा रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने विषयमा विकास साझेदार तथा निजी क्षेत्रसँग सहकार्यका सम्भावना खोजिनेछ ।

अर्थमन्त्री वाग्लेको पछिल्लो विदेश भ्रमण भने छोटो अवधिमै लगातार भइरहेको छ । असोज १ गते भारतको तीन दिने भ्रमण सकेर फर्किएका उनी असोज १० गते दोहा गएका थिए । दोहाबाट असोज १४ गते फर्किएका वाग्ले दुई दिन स्वदेश बसेर पुनः अमेरिका प्रस्थान गरेका हुन् । अमेरिका भ्रमण सकेपछि उनी सम्भावित रूपमा असोज ३० गते बैंकक जाने तयारीमा रहेको बताइएको छ ।