रुसी आक्रमणमा युक्रेनको राजधानी किभको दोस्रो प्रमुख पुलमा क्षति


काठमाडौं । रुसी सेनाले युक्रेनको राजधानी किभको दोस्रो प्रमुख पुलमा प्रहार गरेको किभका मेयर भिटाली क्लित्स्कोले बताएका छन् । क्लित्स्कोका अनुसार आक्रमणबाट नर्दन ब्रिजको सडकको सतह र ट्रलीबसका माथिल्ला तारमा क्षति पुगेको छ । 

आक्रमणपछि पुलबाट हुने यातायात तत्कालका लागि बन्द गरिएको उनले बताएका छन् । यो आक्रमण रुसी ड्रोनले बिहीबारदेखि किभको दक्षिणी पुललाई पटक–पटक निशाना बनाएपछि भएको हो । उत्तरी र दीक्षणी पुलले किभका पूर्वी र पश्चिमी क्षेत्रलाई जोड्छन् । 

दक्षिणी पुलमाथिका अघिल्ला आक्रमणपछि किभको रक्षा परिषद्ले शुक्रबार आपत्कालीन बैठक बोलाएको थियो । बैठकमा क्लित्स्कोले रुसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमणले किभलाई ‘छिन्नभिन्न पारिरहेको’ बताएका थिए ।

उनका अनुसार रुसले किभका ‘महत्वपूर्ण पूर्वाधार, आपूर्ति शृंखला, आवासीय क्षेत्र’ तथा अन्य मुख्य संरचनालाई निशाना बनाइरहेको छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेनले रुसी ऊर्जा संरचनामाथि गरेको आक्रमणको जवाफमा रुसले किभका पूर्वाधारलाई निशाना बनाएको दाबी गरेका छन् । यद्यपि, युक्रेनमाथि रुसी आक्रमण सुरु भएदेखि नै रुसले विभिन्न पूर्वाधारमा प्रहार गर्दै आएको छ । बीबीसी