वासिङ्टन, १९ असोज । संयुक्त राज्य अमेरिकाले बेलायतस्थित रोयल एयर फोर्स (आरएएफ) फेयरफोर्डबाट आफ्ना सबै बी–१ बमवर्षक विमान अमेरिकास्थित गृहस्थानमा फिर्ता गरेको पेन्टागनले पुष्टि गरेको छ । एयरबेसनजिकै संदिग्ध गतिविधि देखिएपछि आसपासका ८५ घर खाली गराइएको घटनाको केही दिनपछि अमेरिकी बमवर्षक फिर्ता गरिएका हुन् ।
पेन्टागनका एक अधिकारीले परिचालन सुरक्षाका कारण सैन्य सामग्री र सैनिकको आवागमनबारे तत्काल जानकारी दिन नसकिएको बताएका छन् । घटनामा प्रहरीले भ्यानबाट विस्फोटक पदार्थ नभेटिए पनि पेट्रोल बरामद गरेको राष्ट्रिय आतङ्कवादविरोधी प्रहरी प्रमुख लरेन्स टेलरले बताए ।
स्थानीय कृषकले तीनवटा भ्यान र मास्क लगाएका व्यक्तिको गतिविधिबारे प्रहरीलाई जानकारी दिएपछि घटना सार्वजनिक भएको थियो । त्यसपछि एयरबेस आसपासका ८५ घर खाली गराइएका थिए । घटनामा पक्राउ परेका २० वर्ष उमेर समूहका पाँच बेलायती पुरुषलाई जमानतमा रिहा गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले त्यस्तो काम नगर्ने बताएको छ भने विदेशमन्त्री मार्को रुबियोले घटनामा ‘विदेशी पक्ष’ संलग्न भएको आरोप लगाएको छ । लन्डनस्थित इरानी दूतावासले भने इरान संलग्न भएको अनुमानलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ ।
बेलायतले गत मार्चमा इरानमा ‘विशेष रक्षात्मक कारबाही’ का लागि फेयरफोर्ड प्रयोग गर्न अमेरिकालाई अनुमति दिएको थियो । त्यसयता अमेरिकी बमवर्षक तथा अन्य विमान उक्त एयरबेसबाट उडान र अवतरण गर्दै आएका थिए । रासस




प्रतिक्रिया