स्टकहोम, १९ असोज । मानवताका लागि उल्लेखनीय योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सन् १९०१ देखि प्रदान गरिँदै आएको नोबेल पुरस्कारको इतिहासमा सङ्घर्ष, उमेरको विविधता, महिला प्रतिनिधित्व तथा संस्थापक अल्फ्रेड नोबेलको साहित्यप्रतिको रुचिसँग सम्बन्धित अनेक रोचक पक्ष छन् । यस वर्षका पुरस्कार विजेताको घोषणा अक्टोबर ५ देखि १२ सम्म हुनेछ ।
नोबेल शान्ति पुरस्कारका पाँच विजेता पुरस्कार समारोहमा सहभागी हुन पाएका छैनन् । सन् १९३६ का विजेता कार्ल भोन ओस्सिट्स्की नाजी यातना शिविरमा थिए भने आङ सान सुकी सन् १९९१ मा नजरबन्दमा थिए । सन् २०१० का विजेता लिउ सियाओबो जेलमा रहँदा उनका लागि पुरस्कार राखिएको कुर्सी खाली राखिएको थियो । सन् २०२२ मा एलेस बियालियात्स्की जेलमा थिए र उनको प्रतिनिधित्व पत्नी नतालिया पिन्चुकले गरेका थिए । सन् २०२३ मा नर्गिस मोहम्मदी पनि जेलमै थिए।
उमेरका हिसाबले पाकिस्तानी अधिकारकर्मी मलाला युसुफजाई १७ वर्षमा नोबेल पुरस्कार पाउने सबैभन्दा कान्छी विजेता बनेका थिए । अर्कोतर्फ अमेरिकी वैज्ञानिक जोन गुडएनफले ९७ वर्षको उमेरमा सन् २०१९ मा रसायनशास्त्रतर्फ पुरस्कार पाएका थिए । उनी सबैभन्दा वृद्ध नोबेल विजेता हुन् ।
सन् १९७४ देखि सामान्यतः मरणोपरान्त नोबेल पुरस्कार दिन रोकिएको छ । त्यसअघि डाग ह्यामरशोल्ड र एरिक एक्सेल कार्लफेल्टले मरणोपरान्त पुरस्कार पाएका थिए । सन् २०११ मा राल्फ स्टाइनम्यानलाई पुरस्कारका लागि चयन गरिएको तीन दिनअघि उनको निधन भएको जानकारी नभए पनि फाउन्डेसनले उनलाई पुरस्कार प्रदान गरेको थियो ।
सन् १९०१ यता प्रदान गरिएका ६३३ नोबेल पुरस्कारमध्ये ६८ वटा मात्र महिलाले पाएका छन् । विज्ञानतर्फ प्रतिनिधित्व अझ न्यून छ । मेरी क्युरी सन् १९०३ मा नोबेल पुरस्कार पाउने पहिलो महिला बनेका थिए र उनी आजसम्म दुई नोबेल पुरस्कार पाउने एक्ली महिला हुन् ।
नोबेल पुरस्कारका संस्थापक अल्फ्रेड नोबेल डाइनामाइटका आविष्कारकका रूपमा प्रसिद्ध भए पनि उनी अङ्ग्रेजी कविताका प्रशंसक तथा स्वयं कवि थिए । पर्सी बिसी शेली र लर्ड बायरनबाट प्रभावित उनले जीवनभर कविता लेखे । जीवनको अन्तिम वर्ष सन् १८९६ मा उनले शेलीको ‘द सेन्सी’ बाट प्रेरित ‘नेमेसिस’ नामक चार अङ्कको त्रासदीसमेत लेखेका थिए । रासस




प्रतिक्रिया